इरानसँग अमेरिकाबीच वार्ता सकारात्मक, ट्रम्पले आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच भएको वार्ता फलदायी रहेको र अमेरिकी आक्रमण पाँच दिनका लागि रोक्ने निर्णय गरिएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरे कि ‘मध्यपूर्वमा हाम्रा शत्रुहरूको पूर्ण र समग्र समाधानको सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी’ भएको छ।
ट्रम्पका अनुसार, इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू पाँच दिनका लागि स्थगित गरिने निर्णय गरिएको छ। यसअघि, इरानको राष्ट्रिय रक्षा परिषद्ले इरानी तट वा टापुहरूमा आक्रमण गर्ने कुनै पनि प्रयासले ‘फारसको खाडीका सबै सञ्चार लाइनहरूमा माइन (विस्फोटक पदार्थ) बिछ्याइनेछ’ चेतावनी दिएको थियो।
ट्रम्पको यो घोषणाले विश्व बजारमा सकारात्मक प्रभाव पारेको छ। कच्चा तेलको मूल्य १३ प्रतिशतले घटेर प्रति ब्यारेल करिब ९६ डलर पुगेको छ। ग्यासको मूल्य १५९ पेन्स प्रति थर्मबाट घटेर करिब १३९ पेन्समा झरेको छ। ट्रम्पको सन्देशलाई ‘अपरेशन एपिक फ्युरी’ सुरु भएयताकै सबैभन्दा मेलमिलापपूर्ण सन्देश रहेको विश्लेषण गरिएको छ।
ट्रम्पले भनेका छन्, ‘यी गहन, विस्तृत र रचनात्मक कुराकानीहरूको आशय र स्वरको आधारमा, मैले युद्ध विभागलाई इरानी ऊर्जा केन्द्रहरू र ऊर्जा पूर्वाधारहरूविरुद्ध कुनै पनि सैन्य आक्रमणहरू पाँच दिनको अवधिका लागि स्थगित गर्न निर्देशन दिएका छु।’






