Skip to main content

एसियन गेम्सका लागि टेबलटेनिस खेलाडीहरू चयन

जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि पुरुष र महिलातर्फ समान तीन–तीन टेबलटेनिस खेलाडी चयन भएका छन्। लैनचौरमा सम्पन्न छनोट प्रतियोगिताबाट पुरुषतर्फ संयोग कपाली प्रथम, रुबिन महर्जन दोस्रो र गणञ्जय दाहाल तेस्रो स्थान हासिल गर्दै छनोट भएका छन्। महिलातर्फ नविता श्रेष्ठ पहिलो, इभाना थापा दोस्रो र योङ्गी पौडेल तेस्रो भएर छनोट भएका छन्।

३० जेठ, काठमाडौं। जापानको आइची–नागोयामा २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २० औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ। अखिल नेपाल टेबलटेनिस संघले दुई दिनसम्म सञ्चालन गरेको छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष र महिला खेलाडीहरू छनोट गरिएको टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जानकारी दिएका छन्।

छनोट प्रतियोगितामा यसै जेठमा सम्पन्न भएको ४२ औं राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ शीर्ष ८ स्थानमा रहेका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्की नवनियुक्त कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ थिइन्। सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघले उनलाई सम्मान र बधाई दिएको थियो। कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुबेरप्रकाश सिंह लगायतका व्यक्तिहरू सहभागी भएका थिए।