Skip to main content

विश्वकप २०२६: लिओनेल मेस्सीका बुवा होर्हे मेस्सी स्वास्थ्य समस्यामा परे

आर्जेन्टिनाका प्रसिद्ध फुटबल खेलाडी लिओनेल मेस्सीका बुवा अहिले “स्वास्थ्यसम्बन्धी समस्या”मा रहेको मेस्सी परिवारले जानकारी दिएको छ। “उहाँ अहिले चिकित्सकीय निगरानीमा हुनुहुन्छ र उहाँको स्वास्थ्य स्थितिमा राम्रो सुधार हुँदै गएको छ,” बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

जारी फिफा विश्वकप २०२६ को बुधवार एल्जिरियासँगको समूह चरणको खेलमा पहिलो गोल गरेपछि मेस्सी रोएको देखिएको थियो। उक्त खेलमा मेस्सीले ह्याट्रिक गर्दै आर्जेन्टिनालाई ३-० ले जिताए। उनी आफ्नो राष्ट्रिय टोलीका कप्तान पनि हुन्। एकैदिन तीन गोल गर्दै ३८ वर्षीय मेस्सीले विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा जर्मनीका मिरोस्लाव क्लोजको बराबरीमा पुगेका छन्। मेस्सीले खेलपछि भने, “म किन रोएँ? यो पूरै फुटबलसँग सम्बन्धित कुरा होइन।”

आर्जेन्टिनाको पहिलो खेल पश्चात परिवारले होर्हे मेस्सीको स्वास्थ्यबारे विभिन्न टिप्पणीहरूमा स्पष्टीकरण जारी गरेको छ। परिवारले भन्यो, “विगत केही घण्टादेखि फैलिरहेको अड्कलबाजीको सन्दर्भमा हाम्रो परिवार नितान्त पारिवारिक गोपनीयताको विषयमा केही व्यक्तिहरूले असंवेदनशील, असम्मानजनक र विवेकहीन रुपमा प्रस्तुत गरिरहेकोमा हामी असहज महसुस गर्दैछौं।” तथापि, परिवारले होर्हे मेस्सीलाई के समस्या पुगेको हो भन्ने विषय खुलाएको छैन।

समूह चरणमा आर्जेन्टिनाको अर्को खेल आगामी सोमवार २२ जुनमा अपराह्न १८ बीएसटी (नेपाली समय अनुसार राति ११:४५ बजे) अस्ट्रिया विरुद्ध हुनेछ। त्यसैगरी अन्तिम खेल आइतबार २८ जुन ३:०० बीएसटी (नेपाली समय अनुसार बिहान ८:४५ बजे) जोर्डनसँग हुनेछ। परिवारले भनेको छ, “त्यसकारण पारिवारिक र आधिकारिक च्यानलहरू बाहेक अन्यत्रबाट आउने सूचना, भनाइ वा समाचारलाई सही वा सत्य नमान्नुहोला।”