कानुन निर्माण सम्बन्धी मन्त्रालयगत छलफल सम्पन्न, मन्त्री गौतमले छिट्टै मस्यौदा तयार पार्न अनुरोध गरिन्
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्मा पेश गरिने विधेयकहरूबारे मन्त्रालयगत छलफल सम्पन्न गरेको छ। कानून मन्त्री सोबिता गौतमले विधायन ऐनअनुसार असार मसान्तभित्र संघीय संसद्मा पेश गरिने विधेयकहरूको प्राथमिकता सूची तयार गर्न छलफल गरेकी छिन्। मन्त्री गौतमले हतारमा कानून निर्माण नगरी गुणस्तरीय तथा कार्यान्वयनयोग्य कानून बनाउन पूर्वतयारीलाई प्राथमिकता दिन सबै मन्त्रालयहरूलाई आग्रह गरेकी छिन्।
कानुन मन्त्री गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव तथा अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरिरहेकी थिइन्। उनले संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ र कुन विधेयकहरू प्राथमिकता सूचीमा राखिएको छ भन्ने विषयमा छलफल गरिन्। विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र संघीय संसद्मा पेश गरिने विधेयकहरूको प्राथमिकतासहितको सूची तयार गर्ने कानुनी व्यवस्था छ।
छलफलका क्रममा मन्त्री गौतमले तयार गर्नुपर्ने कानुनको मस्यौदा बनाउन मन्त्रालयहरूलाई अनुरोध गरिन्। मन्त्रीहरूले तयारी अवस्थामा रहेको भनी छिट्टै विधेयकको सूची पेश गर्ने प्रतिबद्धता जनाए। विधेयकहरूको सूची समयमै अन्तिम गरी पेश गर्ने र प्रत्येक विधेयकको स्पष्ट समयरेखा निर्धारण गर्ने विषयमा पनि छलफल भयो। मन्त्री गौतमले हतार नगरी कानुन निर्माण गर्दा पर्याप्त पूर्वतयारी भएपछि कार्यान्वयन सहज हुने बताइन् र अस्पष्ट तथा परस्पर विरोधाभाषी कानुनहरूले राज्यको समय, श्रमशक्ति र स्रोतहरूको अनावश्यक खर्च हुने प्रदर्शन गरिन्।

