Skip to main content

विश्वकपमा डेविस क्यानडाका कप्तान, तर उनको कथा क्यानडाबाट सुरु भएन

काठमाडौं । अल्फोन्सो डेविस.. रंगशालामा हजारौं समर्थकहरूले उनको नाम लिएर चिच्याइरहेका हुन्छन् । राष्ट्रिय गान बजिरहेको बेला उनी टोलीमा सबैभन्दा अगाडि उभिएका हुन्छन् । विश्व फुटबलका उत्कृष्ट खेलाडीहरूसँग प्रतिस्पर्धा गरिरहेका छन् । आज उनको जित क्यानडाको जित हो । उनको सफलता क्यानडाको गर्व हो । तर, उनको कथा क्यानडाबाट सुरु हुँदैन । किनभने उनी क्यानडाका कप्तान हुन्, तर उनी क्यानडा आएर जन्मेका होइनन् । आजभन्दा २५ वर्षअघि उनको न कुनै राष्ट्र थियो न घर थियो । केवल युद्धबाट बचेको जीवन थियो । लाइबेरियाको गृहयुद्धले उनीहरूको सबैथोक खोसेको थियो । उनी शरणार्थी थिए, जो अहिले शक्तिशाली देश क्यानडाको कप्तान बनेर उभिएका छन् । कप्तान अल्फोन्सो डेविसको जीवनकथा कुनै चलचित्रभन्दा कम छैन । र उनको जीवन यात्रा कुनै हिरोको भन्दा फरक छैन ।

युद्धले बदलिदिएको जीवन सन् १९८९ मा सुरु भएको गृहयुद्धले त्यहाँका लाखौं परिवारको अस्तित्व र जीवनको दिशा नै परिवर्तन गरिदियो । युद्धले केवल देशलाई टुक्र्याएन, हजारौं परिवारको जीवन तहसनहस बनायो । गाउँहरू उजाड भए, मानिसहरू मरे । लाखौं नागरिक विस्थापित भए । डेविसका आमाबुबाले पनि अन्ततः कठोर निर्णय गर्नुपर्‍यो । उनीहरूले आफ्नो घर छोडे, आफ्नो देशसँगै सपना छोडे र आफ्ना सम्झनाहरू पनि । ज्यान जोगाउनकै लागि । उनीहरू घाना पुगे । त्यहाँ उनीहरूले बुडुबुराम शरणार्थी शिविरमा आश्रय पाए । त्यही शिविरमा २००० नोभेम्बर २ मा अल्फोन्सो डेविस जन्मिए । उनी जन्मिएको भू–भाग आफ्नै देशको थिएन । उनी सुविधासम्पन्न अस्पतालमा थिएनन् । त्यो यस्तो ठाउँ थियो जहाँ मानिसहरू भविष्य बनाउन होइन, भविष्य बचाउन संघर्ष गरिरहेका थिए । जसको प्रत्येक बिहान नयाँ अनिश्चिततासँग सुरु हुन्थ्यो र भोलि के हुन्छ भनेर कसैले अनुमान गर्न सक्दैनथ्यो ।

डेविसले आफ्नो जीवनको पहिलो अध्याय सुरू गरे । उनी बाल्यकालका ती दिनहरू धेरै सम्झँदैनन् । तर उनका आमाबुबाले भोगेको संघर्षले उनको सम्पूर्ण जीवनलाई आकार दिएको छ । उनीहरू चाहन्थे आफ्ना छोराछोरीहरुले आफुले भोगेको जीवन नपुर्न् । त्यसका लागि उनीहरूले जुनसुकै कठिनाइ सामना गर्न तयार थिए र त्यसैले पुगे, क्यानडा । नयाँ देश, नयाँ सुरुवात डेविस पाँच वर्षको हुँदा परिवारको जीवनमा ठूलो मोड आयो । क्यानडाले उनीहरूलाई शरणार्थीका रूपमा पुनर्वास गरेको थियो । सन् २००६ तिर उनीहरू क्यानडामा पुगेपछि एडमण्टन, अल्बर्टामा नयाँ जीवन शुरू भयो । त्यहाँ पुगेपछि परिवारको जीवन रातारात बदलिएको थिएन । उनीहरू युद्धबाट टाढा भए तर आर्थिक संघर्ष अझै त्यहाँ थियो । नयाँ संघर्ष शुरू हुन बाँकी थियो ।