Skip to main content

पहिलो चरणमा आर्मी, टाइम्स र गोल्डेनगेटको प्रभुत्व कायम

समाचार सारांश हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ को पहिलो चरणमा त्रिभुवन आर्मी क्लब, टाइम्स र गोल्डेनगेट उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। तीनै टोलीले समान १३ अंक जोडेका छन्। अंक अन्तरको आधारमा आर्मी पहिलो, टाइम्स दोस्रो र गोल्डेनगेट तेस्रो स्थानमा छन्। ८ टोली सहभागी लिगको शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् र विजेताले नगद ४ लाख पुरस्कार प्राप्त गर्नेछन्। १० चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग २०२६ (एचजेएनबीएल) को पहिलो चरण सम्पन्न भएपछि विभागीय टोली त्रिभुवन आर्मी क्लब, साविक विजेता टाइम्स र गोल्डेनगेटले दबदबा कायम गरेका छन्। ८ टोली सहभागी लिगमा सबैले ७-७ खेलिसकेका छन् र यी तीन टोली समान १३ अंक जोडेर शीर्ष स्थानमा छन्। गत वर्ष आयोजना नभएको हिमालयन जाभा बास्केटबल लिगमा नखेल्दै आर्मी यसपटक लिनिङ बास्केटबल च्याम्पियनसिपको विजेता बनेर एचजेएनबीएलमा छनोट भएको थियो। यसपटक आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा रहँदै आएको छ। आर्मी, टाइम्स र गोल्डेनगेटले समान १३ अंक भए पनि अंक अन्तरको आधारमा आर्मी पहिलो, टाइम्स दोस्रो र गोल्डेनगेट तेस्रो स्थानमा छन्। यी तीन टोलीले प्रत्येकले १ खेल मात्र हारेका छन्। साविक विजेता टाइम्सले पहिलो खेलमै गोल्डेनगेटसँग पराजय भोगेको थियो तर त्यसपछि लगातार ६ खेल जितेको छ। आर्मीले पनि उत्कृष्ट सुरुवात गर्दै अहिलेसम्म टाइम्ससँग मात्र हार व्यहोरेको छ। गोल्डेनगेटले पनि केवल एक खेल हार्दै त्यो हार आर्मी विरुद्ध भएको छ। यी तीन टोलीले पहिलो चरणमा एक अर्कालाई हराएका छन् तर बाँकी पाँच टोली विरुद्ध जित हात पारेका छन्।