Skip to main content

मधेसका मुख्यमन्त्रीलाई ज्ञापनपत्र: बजेटमा युवासम्बन्धी कार्यक्रम नसमावेश गरिएपछि

२२ असार, जनकपुरधाम । मधेश सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटमा युवासम्बन्धी कार्यक्रम र बजेट समावेश नगरिएको भन्दै युवा अभियन्ताहरूले मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् । युवा अभियन्ता मो. नइम राइनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर रेड बुक प्रदेश सभाबाट पारित गर्नु अघि युवामैत्री बजेट समावेश गरी संशोधन गर्न माग गरेका हुन् ।

ज्ञापनपत्रमा मधेश प्रदेशको कुल जनसंख्याको ठूलो हिस्सा युवा भए पनि खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत रहेको युवा महाशाखाका लागि बजेट विनियोजन नगरिनु दु:खद भएको उल्लेख छ । नीति तथा कार्यक्रममा युवालाई प्राथमिकता दिईए पनि बजेटमा त्यसको प्रतिबिम्ब नदेखिएको भन्दै तत्काल सुधारको माग गरिएको छ ।

युवाहरूले रेड बुक संशोधन गरी युवा शाखा तथा युवामुखी कार्यक्रमका लागि छुट्टै बजेट व्यवस्था गर्न, प्रदेश युवा नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याउन, प्रदेश युवा परिषद् गठन गर्न साथै नेतृत्व विकास, उद्यमशीलता, नवप्रवर्तन, स्वयंसेवा र सामाजिक रूपान्तरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । ज्ञापनपत्र बुझाउँदै युवा अभियन्ता राइनले युवाको भविष्यसँग खेलबाड नगर्न सरकारलाई आग्रह पनि गरे ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कृषण प्रसाद यादवले युवाहरूले उठाएका मुद्दा प्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै बजेट पारित गर्नु अघि आवश्यक समन्वय र संशोधनका लागि पहल गर्ने आश्वासन दिएका छन् ।