Skip to main content

वर्षाका कारण दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

७ चैत, नवलपरासी पूर्व । वर्षाका कारण नवलपरासी पूर्वको दाउन्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारस्थित ६४ मोडमा सडक मर्मत भइरहेको बेला सडक हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो।

शुक्रबारदेखि सवारी आवागमन प्रभावित भएको दाउन्ने खण्डमा आज बिहानदेखि परेको वर्षाका कारण राजमार्ग दुवै तर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

रातको समयमा मालवाहक सवारीहरू चलाउन रोक लगाइयो

नारायणघाट–बुटवल सडकखण्डमा रातको समयमा ठूला मालवाहक सवारी साधनहरू चलाउन रोक लगाइएको छ।

नारायणघाट-बुटवल सडक योजना कार्यालयले सूचना जारी गर्दै शुक्रवारदेखि ८ गतेसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म दुम्किवास-दाउन्ने-बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको छ।

कार्यालयका अनुसार ठूला मालवाहक सवारी साधनहरूलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किवास बजार क्षेत्रमा रोकिने व्यवस्था मिलाइएको छ।

यात्रुवाहक तथा आकस्मिक सेवाका सवारी साधनहरूलाई प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ।

सडक विस्तार र मर्मतको काम चलिरहेको दाउन्ने सडकखण्डमा वर्षाका कारण सडक चिप्लिने र ठूला मालवाहक सवारी साधन अड्किने समस्या देखिएपछि यस्तो निर्णय लिएएको सडक योजनाले जनाएको छ।

दाउन्ने सडकखण्ड अवरुद्ध भएपछि पश्चिमबाट आउने सवारी साधनहरूलाई सिद्धार्थ राजमार्गतर्फ डाइभर्ट गरिएको थियो। आज उक्त राजमार्ग पनि सिद्धबाबा क्षेत्रमा पहिरो गएपछि अवरुद्ध भएको छ।