Skip to main content

प्रतिनिधिसभामा राई, लिम्बू समुदायको प्रतिनिधित्व ४.३६ प्रतिशत

समाचार सारांश

  • प्रतिनिधि सभामा राई, लिम्बू समुदायको प्रतिनिधित्व ४.३६ प्रतिशत रहेको छ।
  • प्रत्यक्षतर्फ ८ जना र समानुपातिक तर्फ ४ जना राई, लिम्बू निर्वाचित भएका छन्।
  • रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा राई, लिम्बूको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन्।

६ चैत, काठमाडौं। प्रतिनिधि सभामा राई र लिम्बू समुदायको प्रतिनिधित्व ४.३६ प्रतिशत रहेको छ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ८ जना र समानुपातिक तर्फ ४ जना राई, लिम्बू समुदायका उम्मेदवार निर्वाचित भएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा यो अनुपात ४.३६ प्रतिशत हो।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट नरेन्द्र कुमार केरुङ र निश्कल राई निर्वाचित भएका छन् भने नेकपा एमालेबाट सुहाङ नेम्वाङ, राजेन्द्र कुमार राई र क्षितिज थेबे निर्वाचित भएका छन्।

श्रम संस्कृति पार्टीबाट हर्कराज राई, ध्रुवराज राई र आरोन राई प्रत्यक्षतर्फ निर्वाचित भएका छन्।

समानुपातिक तर्फ कांग्रेसबाट भिष्मराज आङ्देम्बे र गीता कुमारी सेन्दाङ निर्वाचित भएका छन्।

समानुपातिक तर्फ एमालेबाट भूमिका लिम्बु सुब्बा र श्रम संस्कृति पार्टीबाट पूर्णप्रसाद लिम्बु निर्वाचित भएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फ र ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुन्छन्।

गत २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा समावेश भएका छन्। १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ। कांग्रेस ३८ सिटसहित दोस्रो, एमाले २५ सिटसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित तेश्रो दल भएका छन्।

यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौं दल बनेको छ भने राप्रपा ५ सिटसहित छैटौं दलको रूपमा रहेको छ। एक जना स्वतन्त्र उम्मेदवार पनि छन्।

रास्वपाबाट राई र लिम्बूको प्रतिनिधित्व नहुँदा रविले मागे माफी

सबैभन्दा ठूलो दल रास्वपाबाट भने राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएको छ। यस विषयमा रास्वपाका सभापति रवि लामिछानेले माफी मागेका छन्।

पार्टीले नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै सभापति लामिछानेले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका हुन्।

‘म दुःखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई, लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन,’ लामिछानेले भनेका छन्, ‘म सभापतिको रूपमा क्षमा माग्दै भन्छु, आगामी दिनमा समावेशीताकै यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अघि बढाउनेछु।’