Skip to main content

मिथिलाञ्चलमा आजबाट चैती छठ पर्वको औपचारिक सुरुवात

८ चैत, जलेश्वर । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रहरूमा आजबाट विधिवत् चैती छठ पर्वको सुरुवात भएको छ। चार दिनसम्म विभिन्न विधि अनुसार मनाइने यो पर्व आजदेखि तराई क्षेत्रका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु गरिएको छ। चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबास लगायतका विभिन्न दुर्गम क्षेत्रहरू तथा सहरी र ग्रामीण क्षेत्रमा रहेको पोखरी, ताल, र स्थानीय प्रसिद्ध नदीहरू जस्तै बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारहरूमा धुमधामका साथ मनाइन्छ।

सत्य अहिंसाप्रति मानिसहरूको रुचि विकास गर्ने र सबै जीवप्रति सहानुभूति बढाउन प्रेरित गर्नु यस पर्वको मुख्य विशेषता रहेको छ भने जलेश्वर नगरपालिका–१ मा रहेको बाबा जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकले बताए। उनी भन्छन्, सूर्य उपासना परम्पराको मनमोहक विधि मानिने यस संसारमा यही एक मात्र पर्व हो जसमा अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकामना पूरा होस् भन्ने आशयका साथ श्रद्धापूर्वक मनाइने चैती छठ पर्वको बेला पोखरी, नदी, ताल र जलाशयहरूसमेत भक्तजनहरूको घुइँचो लाग्छ।

चार दिनसम्म मनाइने चैती छठ पर्वको पहिलो दिन (आज) आइतबार व्रतीहरूले नुहाएर खाना खाने अर्थात् शरीर शुद्ध गर्ने क्रिया सम्पन्न गर्नेछन्। पर्वको दोस्रो दिन (भोलि) सोमबार खर्ना मनाइने छ। खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास बसेर रात्रि छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवता पूजा गर्नेछन् र राति अरवा अरबाइन (नुन नभएको भोजन) खान चलन रहेको छ। षष्ठीका दिन अर्थात् (मङ्गलबार) साँझ गहुँ तथा चामललाई ओखल, जाँतो वा ढिकीमा पिसेर त्यहाँबाट निस्किएको पीठोबाट बनाइने विभिन्न मिठाइहरू जस्तै ठकुवा, भुसवा, खजुरिया, पेरुकिया लगायतका पकवानहरू र विभिन्न फलफूल तथा मूला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सबै सदस्यहरूले विभिन्न भक्ति गीत र लोकगीत गाउँदै निर्धारित जलाशय नजिकै बनाएको छठ घाटसम्म पुग्नेछन्।

षष्ठी (मङ्गलबार) साँझ व्रतीहरूले सूर्य अस्तँदासम्म पानीमा पसेर अस्ताउँदै भएका सूर्यलाई आराधना गर्नेछन्, दुवै हातमा पिठार र सिंदूर लगाई अक्षता फूल हालेर अर्घ अर्पण गर्ने क्रम पालो-पालो गर्दै सम्पूर्ण अर्घ सामग्री स्थापना गरी सूर्यलाई अर्घ दिने चलन छ। भोलिपल्ट बुधबार बिहान पुनः छठ घाटमा पुगेर जलाशयमा प्रवेश गरी अघिल्लो दिनको पूजालाई दोहोर्याउँदै उदाउँदै गरेको सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गरिनेछ। महाभारत अनुसार, द्रौपदीसहित पाण्डवहरूले अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भन्न सूर्यदेवको आराधना गरेका थिए। त्यतिबेला पाण्डवहरू मिथिलाको किरात राजा क्षेत्रमै बसोबास गर्दै आएका थिए। लोक कथानुसार त्यस समयदेखि छठ पर्व मनाउने परम्परा शुरू भएको मानिन्छ। सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् र फलस्वरूप उनले अटल सौभाग्य तथा गहिरो प्रेम प्राप्त गरिन्, तब देखि छठ व्रत गर्ने परम्परा सुरु भएको हो। धार्मिक आस्थासँगै सामाजिक सद्भावको रूपमा पनि विकसित छठ पर्व हिन्दूहरूसँगै मुस्लिमहरूले पनि मनाउँछन्। यस पर्वमा चढाइने सामग्रीको संख्या ७० पुग्नुपर्छ भन्ने विश्वास रहे तापनि चढाउन नसक्नेले गम्हरी धानको चामल मात्र चढाए पनि देवता प्रसन्न हुने जनविश्वास रहन्छ।