
टाइम्स इन्टरनेसनल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ मा रोयललाई पराजित गर्दै लगातार पाँचौं जित हासिल गरेको छ। लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टिम प्लेअफमा प्रवेश गर्नेछन्, जसमा विजेताले नगद ४ लाख पुरस्कार पाउनेछन्। प्रतियोगितामा मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) लाई पनि पुरस्कार दिइने नेबाले जनाएको छ। ७ चैत, काठमाडौं।
हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाइम्स इन्टरनेसनल क्लबले पाँचौं जित हासिल गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा शनिबार भएको खेलमा टाइम्सले रोयल्सलाई ९५-६१ ले पराजित गरेको छ। लिगमा टाइम्सको यो लगातार पाँचौँ जित हो। पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको टाइम्सले त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै लगातार जित हात पारेको हो। ६ खेलबाट टाइम्सले ११ अंक जोडेको छ। रोयलको यो पाँचौँ हार हो। ६ खेलबाट रोयलको ७ अंक छ।
टाइम्सले चारै क्वाटरमा अग्रता लिने क्रममा २९-१७, १७-१४, २५-१८ र २४-१२ को प्रदर्शन गर्यो। टाइम्सका कप्तान सदिह प्रधानले सर्वाधिक २४ अंक स्कोर गरे। शुक्रबार राति भएको खेलमा आर्मीले प्लेबक्स एरेनालाई १०२-८६ ले हरायो। नेपाल बास्केटबल संघ (नेबा) को आयोजना गरिएको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कुल ५६ खेल हुँदैछन्।
लिग चरणपछि शीर्ष चारमा रहने टोलीहरू प्लेअफमा प्रवेश गर्नेछन्। प्लेअफ अन्तर्गत लिगमा पहिलो र दोस्रो हुने टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ भने तेस्रो र चौथो हुने टोलीबीच एलिमिनेटर खेल हुनेछ। पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरको विजेता बीच दोस्रो क्वालिफायर हुनेछ। पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच फाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले नगद ४ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन्। यस्तै, उत्कृष्ट प्रदर्शन गर्ने मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) लाई पनि आकर्षक पुरस्कार प्रदान गरिने नेबाले जनाएको छ।






