Skip to main content

इनिसा विक मृत्यु मामलामा चारै अभियुक्तलाई थुनामा राख्ने आदेश

१७ चैत, सुर्खेत । इनिसा विक मृत्यु प्रकरणमा संलग्न चारै जनालाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको छ। बाल इजलासका न्यायाधीश दीपक ढकालको एकल इजलासले मंगलबार आरोपित चारै जनालाई पुर्पक्षकालागि बाल सुधार गृहमा पठाउन आदेश गरेको हो। इनिसाको बलात्कारपछि हत्या भएको भन्दै आरोपित चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दर्ता गरिएको थियो। चारै जना नाबालक रहेका छन्। प्रस्तुतमा हाल पुर्पक्षकालागि सुधार गृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेको अदालतका सूचना अधिकारी उज्वल रावलले जानकारी दिए।
‘चारै जनालाई पुर्पक्षकालागि बाल सुधार गृहमा पठाउन आदेश भएको छ,’ रावलले भने, ‘घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नभएसम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश आएको हो।’ प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदनमा इनिसामाथि सामूहिक नभई एकल करणी भएको निष्कर्षसहित चैत्र ११ गते प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको थियो। इनिसाका प्रेमी भनिएका १६ वर्षीय नाबालकले सहमतिमै यौन सम्बन्ध राखेको र अचानक बेहोस भएको बयान दिएका थिए। पछि अस्पताल लैजान सहयोगका लागि आफ्ना साथीहरूलाई बोलाएको बताएका छन्। तर आइतबार सरकारी वकिल कार्यालयले योजनाबद्ध तरिकाले सामूहिक बलात्कार भएको भन्दै चारै जनाविरुद्ध मुद्दा अघि बढाउन अभियोग पत्र अदालतमा दर्ता गर्‍यो। अदालतले पनि मंगलबार चारै जनालाई पुर्पक्षकालागि बाल सुधार गृहमा पठाउन आदेश दिएको छ।
गत फागुन २३ गते बिहान टिउसन पढ्न जान्छु भनी घरबाट निस्किएर वीरेन्द्रनगर–१ का १६ वर्षीय इनिसा घर वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्। प्रहरीले उनलाई कर्णाली प्रदेश अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उही दिन घटना स्थलबाट उनका प्रेमी भनिएका १६ वर्षीय एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। ती युवकको बयानपछि थप तीन जना किशोरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको थियो। इनिसा मृत्यु प्रकरणमा न्यायिक निरुपण सुरु भइसकेको छ, तर पीडित परिवारले न्यायका लागि आन्दोलन जारी राखेका छन्। उनीहरूले घटनामा संलग्नहरूलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएका छन्। इनिसाको शव २४ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको छ।