समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई सेयर वितरणको प्रक्रिया सुरु

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई सेयरधनी बनाउने प्रक्रिया सुरु गरेको छ। बैंकको सम्पत्तिभन्दा दायित्व करिब २५ प्रतिशत बढी रहेको र निक्षेपकर्तालाई सबै पैसा फिर्ता दिन नसकिने अवस्था छ। सेयरमा रूपान्तरण गर्दा प्रतिसेयर मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ र पूँजी नपुगेमा स्वदेशी वा विदेशी लगानीकर्ताबाट पूँजी जुटाउने योजना रहेको छ। १८ चैत, काठमाडौं।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्तालाई सेयरधनी बनाउने तयारी गरिरहेको छ। बैंकलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक पूँजी जुटाउन केन्द्रीय बैंकले निक्षेपकर्तालाई नै सेयरधनी बनाउने प्रक्रिया सुरु गरेको हो। राष्ट्र बैंकको नियमनमा रहेको कर्णाली डेभलपमेन्ट बैंकको सम्पत्तिभन्दा दायित्व करिब २५ प्रतिशतले बढी छ। यस संस्थालाई भाँचेर सम्पत्ति र दायित्व मिलाउन नसकिने हुँदा पुनः सञ्चालन गर्ने योजना तयार गरिएको छ।
यसका लागि राष्ट्र बैंकको सञ्चालक समितिले निर्णय गरी नेपाल धितोपत्र बोर्डलाई यस प्रक्रियामा सहजीकरण गर्न अनुरोध गरेको छ। निक्षेपकर्तालाई सेयरधनी बनाउन धितोपत्र बोर्डको स्वीकृति आवश्यक हुन्छ। यस सम्बन्धमा आवश्यक निर्णयका लागि छलफल राष्ट्र बैंकबाट गएको व्यवस्थापन समितिका संयोजक टीकाराम खतिवडाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “बैंकमा निक्षेप र सम्पत्तिको असन्तुलन छ। हाल बैंकमा ४ अर्ब ३० करोड निक्षेप छन् भने सम्पत्ति करिब ३ अर्ब ६५ करोड मात्र छ।” उहाँका अनुसार बैंकको सम्पत्ति सबै उपलब्ध गराए पनि बचतकर्तालाई सबै पैसा फिर्ता दिन सकिँदैन।
साथै, बैंकको कर्जाको गुणस्तर पनि कमजोर छ। खतिवडाले थप्नु भयो, “सुपरभाइजरी हेयरकट” हेर्दा पनि निक्षेपकर्तालाई पूरै रकम फिर्ता दिन सकिँदैन। त्यसैले निक्षेपकर्तालाई सुरक्षित बनाउन संस्थालाई पुनः सञ्चालन गर्नु आवश्यक छ। यस अवस्थामा बैंकका निक्षेपकर्ताले करिब २५ प्रतिशत रकम पाउन सक्दैनन्। संस्थालाई पुनः सञ्चालन गरेर बचतकर्ताको पैसा फिर्ता दिनका लागि निक्षेपकर्तालाई सेयरमा रूपान्तरण गर्नुपर्ने हुन्छ।
राष्ट्र बैंकले तोकेको पूँजी जुटाउन र सेयर जारी गर्न दुई विकल्पमा काम भइरहेको छ। निक्षेपकर्ताले आफ्नो निक्षेप बराबर वा कम सेयर लिन सक्ने व्यवस्था गर्दै पूँजी जुटाउने प्रयास भइरहेको छ र प्रारम्भिक सर्वेक्षण अनुसार निक्षेपकर्ताहरू सहमत छन्। सेयरमा रूपान्तरण हुँदा प्रतिसेयर मूल्य १०० रुपैयाँ निर्धारण हुनेछ। पूँजी पूर्ति नभए स्वदेशी वा विदेशी इच्छुक लगानीकर्ताबाट पूँजी ल्याउने योजना छ।
खतिवडाले भन्नुभयो, “अव्यवस्थित संस्थापक र साधारण सेयरधनीका सेयर घटाइसक्यौं, प्रतिकित्ता सेयर मूल्य १ रुपैयाँमा झरेको छ, जसले १०० कित्तामा १ कित्ताको रूप दिएको हो। अहिलेको ५० करोड पूँजीबाट २३ करोड घटाई सकेको छ, बाँकी करिब २७–२८ करोड पूँजी छ। अब चुक्ता पूंजी कायम गरी दायित्व व्यवस्थापन गरेर संस्थालाई चलाउन ४ अर्ब भन्दा बढी पूँजी आवश्यक छ।” हाल बैंकको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण छ। पुनः सञ्चालनपछि संस्थापकको सेयर ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत बनाइने योजना छ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार सेयर सम्बन्धी काम गर्दा धितोपत्र बोर्डको स्वीकृति अनिवार्य हुन्छ। धितोपत्र बोर्डका सहायक प्रवक्ता तोलाकान्त न्यौपानेले भने, “राष्ट्र बैंकले नगरेको अभ्यास गर्न खोजिरहेको छ, जस सम्बन्धमा बोर्ड र राष्ट्र बैंकबीच छलफल भइरहेको छ। कानुन स्पष्ट नभएकाले धितोपत्र दर्ता तथा निष्कासन नियमावलीसँग सम्बन्धित निर्देशिका संशोधन आवश्यक छ।”






