Skip to main content

संसद् अधिवेशन: प्रतिनिधिसभाको पहिलो बैठक र बालेनको सम्भावित सम्बोधन

नयाँ निर्वाचनपछि बिहीबार अपरान्ह बस्ने प्रतिनिधिसभाको पहिलो बैठकको दृश्य अङ्कगणित र अनुहारका हिसाबले विगतका केही दशकहरूभन्दा फरक देखिए पनि प्रारम्भिक बैठकका एजेन्डाहरूमा नयाँपन नहुने विज्ञहरूले बताएका छन्। यसपटक २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ जना सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित भएका छन्, जुन पार्टी अघिल्लो आम चुनावको ठीक अघि स्थापना भएको थियो। जनताबाट बलियो म्यान्डेट पाएर उक्त दल संसद्‌मा प्रवेश गरिरहेको हुँदा प्रतिनिधिसभाका एक पूर्व महासचिवले संसद् भित्र सन्तुलन मिलाउने जिम्मेवारी सत्ताधारी दलको नेतृत्वमा निर्भर हुने बताए।

पाँच वर्षको कार्यकाल रहने नयाँ प्रतिनिधिसभा बैठक सुरु भएकै दिन बिहीबार राष्ट्रिय सभाको अधिवेशन पनि आरम्भ हुँदैछ, जहाँ रास्वपाका जनप्रतिनिधिहरू उपस्थित छैनन्। अपरान्ह २ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठकमा सम्भावित ८ वटा कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। राष्ट्रिय गानबाट सुरु हुने बैठकमा सभामुखको भूमिका निर्वाह गर्न तोकिएका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपतिको कार्यालयबाट पठाइएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्।

त्यसपछि प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी सदनलाई गराइनेछ। प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएकासम्मका लागि २०७९ सालकै नियमावली बमोजिम काम कारबाही गर्ने कार्यसूचीमा स्वीकृतिका लागि प्रस्तुत गरिनेछ। साथै विगतका अधिवेशनहरूजस्तै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरू मनोनयन गर्ने र दलीय आधारमा मन्तव्य राख्ने कार्यक्रम पनि समावेश छ।

बैठकमा आगामी २२ गतेका लागि तय भएको सभामुख निर्वाचनको मिति तोक्ने सम्भावित एजेन्डा पनि उल्लेख गरिएको छ। त्यसपछि गृहमन्त्री सुदन गुरुङले शुशीला कार्की नेतृत्वको चुनावी सरकारले ल्याएका तीनवटा अध्यादेश प्रस्तुत गर्नेछन्। त्यस्तै दिवंगत पाँच जना पूर्व सांसदहरूप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि बैठकमा समावेश गरिएको छ।