
अप्रिल १५ लाई पहिलो पटक अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा मनाउने तयारी द्रुत रूपमा तीव्र गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका ७५३ स्थानीय तह र सात प्रदेशहरुमा दीर्घकालीन प्रभाव पार्ने गरी आरोग्य दिवस मनाउने निर्णय गरेको छ। नेपालले संयुक्त राष्ट्र संघ महासभाबाट अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गराएको छ, जसले समग्र आरोग्य अवधारणालाई विश्वस्तरमा मजबुत बनाउने छ।
१९ चैत, काठमाडौं। १५ अप्रिलमा पहिलो पटक मनाउन लागिएको अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवसको तयारी तीव्र बनाइएको छ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय आरोग्य दिवस आयोजक समितिको बैठकले अप्रिल १५ (२ वैशाख २०८३) लाई देशभरिका ७५३ स्थानीय तह र सात प्रदेशमा प्रभावकारी, सहभागितामूलक र दीर्घकालीन प्रभाव पार्ने गरी मनाउने निर्णय गरेको छ। बैठकमा सहभागीहरूले आरोग्य दिवसलाई मात्र औपचारिक कार्यक्रममा सीमित नगरी राष्ट्रिय अभियानको रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले आरोग्यलाई राष्ट्रिय गौरव, जनजीविका र दीर्घकालीन विकाससँग जोड्नुपर्ने विषयमा बल दिएका छन्।
मन्त्री पौडेलले योग र ध्यानका गुरु भगवान शिव हुनुको उल्लेख गर्दै योग परम्परासँग सम्बद्ध पवित्र स्थल पशुपतिनाथको उदाहरण दिँदै वेलनेसलाई केवल प्रचारसम्म सीमित नराखी जनजीविकासँग जोड्नुपर्ने बताए। ‘नागरिकमा बढ्दो निराशा अन्त्य गर्न र राष्ट्रिय गौरव जोगाउन वेलनेस आवश्यक छ, हामीले वेलनेस पर्यटन अरूलाई बेच्नुअघि आफ्नै मूल्य चिन्नुपर्छ,’ उनले भने, ‘यो सुरु मात्र हो, लामो यात्रा बाँकी छ, तर आधारभूत संरचना, मौलिकता र हाम्रो पहिचान सुरक्षित राख्दै अघि बढ्न सक्ने हो भने वेलनेस नेपालको समृद्धिको नयाँ आधार बन्नेछ।’
प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले वेलनेसलाई नेपालको आध्यात्मिक परम्परा र सांस्कृतिक मौलिकतासँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिएका छन्। उनी कार्यक्रममा प्रभावकारी बनाउन परम्परागत दृष्टिकोणभन्दा फरक र परिणाममुखी सोच आवश्यक रहेको उल्लेख गर्छन्। निरोगी जीवन र स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने वेलनेसलाई दीर्घकालीन रूपमा मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणसँग जोड्नुपर्ने उनको धारणा छ। ‘वेलनेसलाई व्यवहारमा उतार्न हामीले क्षेत्रगत ढाँचामा काम गर्नुपर्छ, विद्यालयमा ध्यान अभ्यास, होटल क्षेत्रमा स्वास्थ्यकर खानपान र हिमाली क्षेत्रमा माइन्डफुलनेससँग सम्बन्धित गतिविधिले छोटो समयमा नै व्यापक सन्देश दिन सक्छन्,’ उनले भने।
त्यसै गरी मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले आरोग्यलाई नेपालको ‘सफ्ट पावर’ का रूपमा प्रयोग गर्न सकिने उल्लेख गरे। ‘यो केवल एक दिवस होइन, नेपालको मौलिक ज्ञान, संस्कृति र जीवनशैलीलाई विश्वभरि फैलाउने ऐतिहासिक अवसर हो,’ उनले भने, ‘आजको बैठकमार्फत जिम्मेवारी बाँडफाँट गर्दै कार्यान्वयनलाई स्पष्ट बनाइएको छ।’
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वेलनेस पर्यटन नेपालको प्रमुख सम्भावना भएको बताए। ‘नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाले हामीलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाएको छ, अब वेलनेस पर्यटन उत्पादन विकास, प्याकेजिङ र प्रवर्द्धनमा बल दिँदै नेपालको आम्दानीको मुख्य धारा बनाउने समय आएको छ,’ जोशीले भने, ‘त्यसका लागि हामीले देशभित्र र बाहिर यस दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आवश्यकता छ।’
वेलनेस पर्यटनका सम्भावना र अवसरबारे प्रस्तुति दिँदै सुदीप बैजुले नेपाललाई विश्वकै प्रमुख वेलनेस गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। उनले योग, आयुर्वेद, ध्यान र आध्यात्मिक अभ्यास जस्ता मौलिकताहरूलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके उच्च खर्च गर्ने पर्यटक आकर्षित गर्न सकिने सुझाव दिएका छन्।
जीवन विज्ञानका संस्थापक सदस्य एलपी भानुले वेलनेस जीवन जिउने कला भएको उल्लेख गर्दै विश्वले खोजेको र नेपालले दिन सक्ने मुख्य विषय भएको बताएका छन्। नेपालले प्रस्ताव गरेपछि संयुक्त राष्ट्र संघ महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा घोषणा गरेको थियो, जुन नेपालको लागि एक महत्वपूर्ण कूटनीतिक उपलब्धि मानिएको छ।
यो निर्णयले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा वातावरणीय सन्तुलनको रूपमा परिभाषित गर्दै ‘समग्र आरोग्य’ अवधारणालाई विश्वस्तरमा सुदृढ बनाउन सहयोग गर्ने छ। नेपालको पर्यटन आम्दानी ६१ करोड २० लाख अमेरिकी डलर रहेको छ भने वेलनेस पर्यटनको हिस्सा २ करोड ५० लाख डलर (करिब ४ प्रतिशत) रहेको छ।






