
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्तर्गत अजिगरा ताल क्षेत्र तिन्ना चामल उत्पादन क्षेत्रका रूपमा परिचित छ। यसलाई रातो जंगली चामल समेत भनिन्छ। यो खासगरी सिमसार क्षेत्रका दलदल जमिनमा पाइने चामल हो। अंग्रेजीमा यसलाई ‘Red Wild Rice’ भनिन्छ भने यसको वैज्ञानिक नाम ‘Oryza rufipogon’ हो। यो चामल उच्च फाइबर, प्रोटिन, खनिज र कार्बोहाइड्रेटयुक्त हुन्छ। साथै यो ग्लुटेन रहित तथा पोलिस नगरिएको फलामयुक्त अन्न हो, जुन प्राकृतिक रूपमा दलदली सिमसार क्षेत्रमा उब्जन्छ। प्रायः सात्विक तथा फाइबरयुक्त खानाका रूपमा मानिन्छ। प्राकृतिक पोखरी पारिस्थितिकी प्रणालीमा वृद्धि हुने भएकाले यो प्रायः कीटनाशक, रासायनिक पदार्थ वा सिंचित मल लगभग प्रयोग नहुने हुँदा शुद्ध हुन्छ। यो डिटक्सिफिकेशन र स्वास्थ्यका लागि उपवास आहारमा व्यापक प्रयोग गरिन्छ।
तिन्ना चामल एक दुर्लभ र पौष्टिक जंगली रातो रंगको चामल हो। विशेष गरी हिन्दू पर्वहरू जस्तै छठ, हरितालिका तिज, ऋषि पञ्चमी, एकादशी आदिमा ब्रतालुहरूले भात रूपमा पकाएर सेवन गर्दछन्। यसमा ग्लाइसेमिक इन्डेक्स कम भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत पुर्याउँछ। यसको रंग गहिरो रातो खैरोदेखि तीव्र गाढा रातो रंगसम्म फैलिएको हुन्छ र प्रायः नटी वा माटोको गन्ध पनि आउँछ। यो रंग चोकर तहमा रहेका प्राकृतिक एन्थोसायनिन पिग्मेन्टबाट उत्पन्न हुन्छ। पकाउँदा रातो खैरो र tono लाई तीव्र देख्न सकिन्छ।
स्थानीय किसान राम विलास यादवले जनाए अनुसार तिन्ना चामललाई तिन्नी, तिनिया र तुम्बा लगायत विभिन्न नामले चिनिन्छ। यो चामल धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्वको छ। अक्टोबरदेखि डिसेम्बरसम्म सिमसार वरिपरिका स्थानीय समुदायले यसलाई जंगलबाट सङ्कलन गर्ने गर्दछन् र यसलाई प्रायः ‘ब्रतको चामल’ भनिन्छ। तिन्ना चामल नेपालका ग्रामीण क्षेत्रहरूमा जैविक विविधता र सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश हो। बजारमा यसको माग बृद्धि भएपछि कपिलवस्तुका किसानहरूले ताल वरिपरि खेती पनि सुरु गरेका छन्। हाल यस चामलको मूल्य कपिलवस्तु बजारमा प्रति केजी २३० रुपैयाँसम्म पुगेको छ।
त्रिभुवन विश्वविद्यालयका वनस्पतिशास्त्री प्रा. डा. मोहन प्रसाद देवाकोटासंगको अन्तरवार्तामा तिन्ना चामल घाँसे मैदान, सिमसार, कृत्रिम स्थलीय र जलीय ठाउँ तथा समुद्री क्षेत्रहरूमा वृद्धि हुने बताइएको छ। तिन्ना वा रातो चामललाई २०१७ मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले खतरापूर्ण प्रजातिको रातो सूचीमा समावेश गरेको छ। तथापि यसलाई सबैभन्दा कम चिन्ताको सूचीमा राखिएको छ, जसले यस प्रजातिलाई कुनै ठूलो जोखिम नभएको जनाउँछ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका अनुसार तिन्ना चामल नेपालसहित अष्ट्रेलिया, बंगलादेश, कम्बोडिया, चीन (जियाड.सी, हुनान, गुआड.सी, ग्वाड.डोड., युनान), कोलम्बिया, इक्वेडर, गुयाना, हङकङ, भारतका विभिन्न राज्यहरू, इन्डोनेशिया, लाओस, मलेसिया, म्यानमार, पपुवा न्यू गिनी, फिलिपिन्स, श्रीलंका, ताइवान, थाइल्याण्ड र भियतनाममा पनि पाइन्छ।






