Skip to main content

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको आयोजनामा व्यस्तता

भक्तपुरमा विश्वप्रसिद्ध बिस्केट जात्रा चैत २७ गतेदेखि नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउन लागिएको छ। गुठी संस्थान भक्तपुरले भैरव र भद्रकालीको रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएको छ। जात्राको अन्तिम दिन वैशाख ५ गते रथलाई पाँचतले मन्दिरमा राखेर तान्त्रिक विधिअनुसार पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ। २० चैत, भक्तपुर।

हरेक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केट (बिस्का) जात्रा यसवर्ष चैत २७ गते शुक्रबारदेखि सुरु हुने भएको छ। नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्यगरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाईने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर समापन गरिन्छ।

गुठी संस्थान भक्तपुर कार्यालयले जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको जानकारी दिएको छ। टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा प्यागोडा शैलीको तीन तले रथ निर्माण कार्य तीव्र गतिमा भइरहेको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी दिए। उहाँले भैरवको रथ निर्माण सम्पन्न भए लगत्तै भद्रकालीको रथ निर्माण शुरु गरिने जानकारी दिँदै अहिलेसम्म भैरव रथ निर्माणको क्रममा विभिन्न आकारका काठ तयार गर्ने, पाङ्ग्राहरू जोड्ने, बिग्रिएका सामानको मर्मत गर्ने, भाँचिएका धुराहरू मर्मत गर्ने, चुकुलहरू फेर्ने, नयाँ आसी जडान गर्ने, छानो मर्मत गर्ने र रथ निर्माण गर्ने काम तीव्र गतिमा भइरहेको बताए।

चैत २६ गतेसम्म रथमा रंग रोगन तथा शोभा सजावट गर्ने कार्य गरिने र २७ गते सरकारी पूजा बिहान ११ बजे, सर्वसाधारणको पूजा दिउँसो तीन बजेसम्म सकेर तत्पश्चात् दिउँसो ३ बजेदेखि रथ तान्न सुरु गरिने तयारी गरिएको प्रमुख कर्माचार्यले जानकारी दिए। उहाँले भने, ‘रथ तान्न ठेकेदारलाई ९० हात लामो कसिलो एकदमै बलियो डोरी ल्याउन निर्देशन दिएका छौं, जात्रा व्यवस्थापन समितिको टोलीले पनि डोरीको परीक्षण गर्नेछ, ५५ हात लामो र नाङ्लो जस्तो फराकिलो दुई लिङ्गो तयार गरिएको छ, यस वर्ष २७ गते भैरवको रथ दिउँसो ३ बजे तानेर जात्रा सुरु गर्ने तयारी गरेका छौं।’