
२१ चैत, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ। दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो। यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन। उनले यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको बताए।
राजदूत क्षेत्रीले घाइते नेपालीहरूको अवस्थाबारे बुझ्ने काम भइरहेको बताए। ‘औपचारिक रूपमा जानकारीमा आएको छैन्। हामीले पनि यहाँको सरकारी मिडियाले सातजना नेपाली घाइते भएको उल्लेख गरेपछि थाहा पाएका हौं’, राजदूत क्षेत्रीले भने, ‘सोही आधारमा हामीले के भएको हो? घाइतेहरूको अवस्था कस्तो छ? उनीहरूको विवरण मागेर यहाँको विदेश मन्त्रालयलाई पत्र पठाई सोधेका छौं।’ त्यहाँको विदेश मन्त्रालयबाट आफूहरूको पत्रको जवाफ प्राप्त भइनसकेको र सोमबारसम्ममा जानकारी प्राप्त हुन सक्ने बताए।
‘शुक्रबार घटना भएको थियो। आज र भोली बिदा भयो। अब सोमबार केही जानकारी आउँछ होला’, राजदूत क्षेत्रीले भने। शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो। जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए। जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए। घाइतेमध्ये एक जना नेपालीको अवस्था गम्भीर रहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।
हवाई defensa प्रणालीले हवाई खतराहरूलाई सफलतापूर्वक रोक्ने क्रममा अबुधाबीका केही भागमा भग्नावशेष खसेपछि उक्त घटना हुन पुगेको थियो। यूएईको वायु defensa प्रणालीले इरानबाट आउने क्षेप्यास्त्र तथा ड्रोनलाई अवरोध गर्दै आएको छ। तर, शुक्रबार अवरोध गर्ने क्रममा त्यसका अवशेषहरू अजबान क्षेत्रमा खसेको थियो। घटना लगत्तै अबुधाबीका अधिकारीहरूले आपतकालीन प्रतिक्रिया टोलीहरूले प्रभावित क्षेत्रहरूलाई सुरक्षित गर्न र घाइतेहरूलाई चिकित्सा सहायता प्रदान गर्न द्रुत गतिमा काम गरेका थिए। यसअघि पनि मार्च १९ मा यस्तै अवरोधपछि क्षेप्यास्त्रका अवशेष खस्दा हब्शान ग्यास सुविधा अस्थायी रूपमा बन्द गरिएको थियो। यूएईको विदेश मन्त्रालयले हब्शान ग्यास सुविधा र बाब फिल्डलाई लक्षित गर्दै गरिएको इरानी आक्रमणको कडा निन्दा गरेको छ।






