
सिरहामा कारले साइकल यात्री रविन सदायलाई ठक्कर दिँदा उनी गम्भीर रूपमा घाइते भएका छन्। सदायलाई स्थानीय आर.के. मेडिसिटीमा उपचारपछि विराटनगर रिफर गरिएको छ। कार चालक आकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा राखेको छ। २१ चैत, सिरहा।
सिरहानगरपालिका १०, आमचौकमा साइकल यात्रीलाई कारले ठक्कर दिँदा एक युवक गम्भीर घाइते भएका छन्। धनगढीमाई नगरपालिका–११ का करिब २५ वर्षका रविन सदाय उक्त दुर्घटना हुने क्रममा घाइते भएका हुन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ७५२७ नम्बरको कारले सदायलाई ठक्कर दिएको बताइएको छ।
दुर्घटनापछि गम्भीर अवस्थामा रहेका सदायलाई तत्काल स्थानीय आर.के. मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख सालिकराम तिमिल्सिनाले जानकारी दिएका छन्। प्रहरीका अनुसार सदायको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ। कार चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का करिब २६ वर्षीय आकाश चौधरी रहेको पुष्टि भएको छ। उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ।






