Skip to main content

इरानले अमेरिकी सैन्य विमान खसालेको विषयमा अमेरिकी सञ्चारमाध्यमको विश्लेषण

२१ चैत, काठमाडौं । इरानले दुई अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ। यस घटनापछि अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानसँगको युद्धले अमेरिकी जनतामाझ निकै अलोकप्रियता कमाइरहेको उल्लेख गरेको छ। यसअघि नै इरानसँगको युद्धका कारण राष्ट्रपति ट्रम्पलाई आलोचनाको सामना गर्नुपरेको थियो। सीएनएनले लेखेको छ, ‘यस्तो युद्धमा जहाँ सैन्य वर्चश्व अमेरिकाको पक्षमा छ, यो घटनाले एक विषम युद्धको खतरा देखाइरहेको छ। यसको लगानी अमेरिकी जनताले पहिले नै अस्वीकार गर्दैआएका छन्।’

अर्को अमेरिकी सञ्चारमाध्यम एनबीसी न्युजले जारी युद्धमा पहिलो पटक अमेरिकाको दाबी गलत भएको उल्लेख गरेको छ। ‘इरानभित्र अमेरिकी विमान दुर्घटनाग्रस्त भयो, जसले इरानी हवाई क्षेत्रमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको धारणा गलत साबित भएको छ,’ एनबीसी न्युजले लेखेको छ। ट्रम्पले इरानसँगको युद्धमा जितको घोषणा गरेर युद्ध समाप्त गर्न दबाब दिइरहेको बेला यसो भएको उल्लेख गरिएको छ। ‘उनले मध्यपूर्वमा नयाँ सैनिकको तैनाथी गरेर भनेका छन्– यदि इरान होर्मुज स्ट्रेट खोल्दैन भने त्यस क्षेत्रमा तनाव झन् बढ्छ,’ एनबीसी न्युजले लेखेको छ।

अर्को अमेरिकी सञ्चार संस्था फोक्स न्युजले विशेषज्ञलाई हवाला दिँदै युद्ध क्षेत्रको आकास नियन्त्रण गर्नुको मतलब त्यो आकाशमा आफ्नालागि जोखिन हुनु नरहेको भन्दै ब्यंग्य गरेको छ। ‘वायु सेनाको एफ–१५ लडाकु विमान इरानले खसाल्नुले उसको आकाशमा वर्चश्व रहेको ट्रम्प प्रशासनको दाबीमाथि नै प्रश्न उठेको छ,’ फोक्स न्युजले लेखेको छ।