Skip to main content

इरानको आक्रमणमा बहराइनमा चार घाइते, दुबईका दुई भवनमा क्षति

इरानले खाडी क्षेत्रका छिमेकी देशहरूमा आक्रमण तीव्र बनाइरहेको क्रममा बहराइनमा ड्रोनका टुक्राले चार जनालाई सामान्य घाइते बनाएको छ। अमेरिका अध्यक्ष ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खुला गर्न ४८ घण्टे चेतावनी दिएका छन्, जुन इरानले ‘असन्तुलित र मूर्खतापूर्ण’ भनेर अस्वीकार गरेको छ। इरानले अमेरिकाको एफ–१५ई स्ट्राइक ईगल विमान खसालेको दाबी गरेको छ र पाइलटको खोजी जारी रहेको छ भने पाकिस्तान युद्धविरामका लागि मध्यस्थता गरिरहेको छ। २२ चैत, काठमाडौं। शनिबार इरानले खाडी क्षेत्रका छिमेकीहरूमा आक्रमण तीव्र पारिरहेको बेला अवरुद्ध ड्रोनका टुक्रा बहराइनको सित्रा क्षेत्रमा खस्दा चार नागरिक सामान्य घाइते भएका छन्।

बहराइनको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानी आक्रमणका कारण अवरुद्ध ड्रोनका टुक्रा सित्रा क्षेत्रमा खस्दा चार जना सामान्य घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ।’ घटनास्थलमा उद्धार र एम्बुलेन्स टोली खटिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, संयुक्त अरब इमिरेट्सको दुबईमा दुई भवनहरूमा हवाई अवरोधका कारण खसेका भग्नावशेषका टुक्रा पुगेका छन्। तीमध्ये एक भवनमा अमेरिकी क्लाउड कम्प्युटिङ कम्पनी ओराकल कर्पोरेशनको कार्यालय रहेको छ। दुबई प्रशासनले भवनमा आगो लागेको भए पनि मानवीय क्षति नभएको बताएको छ।

दुबई मिडिया अफिसले भन्यो, ‘दुबई इन्टरनेट सिटीस्थित ओराकल भवनको बाहिरी भागमा हवाई अवरोध क्रममा खसेका भग्नावशेषका कारण सामान्य घटना भएको हो। यसमा कुनै मानवीय क्षति भएका छैनन्।’ त्यस्तै, दुबई मरीना क्षेत्रमा रहेको अर्को भवनमा पनि यस्तै भग्नावशेष पुगेको तर मानवीय क्षति नभएको बताइएको छ।

यसै साता इरानको रिभोलुसनरी गार्डले खाडी क्षेत्रमा अमेरिकी प्रविधि कम्पनीहरूलाई निशाना बनाउने चेतावनी दिएको थियो। फेब्रुअरी २८ मा अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि सुरु भएको मध्यपूर्व युद्धमा इरानले लगातार खाडी क्षेत्रका देशहरूलाई लक्षित गर्दै आएको छ। सैन्य तथा ऊर्जा र नागरिक पूर्वाधारमा समेत आक्रमण गरिएको आरोप छ।

शुक्रबार अबुधाबीको हब्सान ग्यास कम्प्लेक्समा ड्रोन वा मिसाइलका टुक्राले एक जनाको मृत्यु र चार जना घाइते भएका थिए। त्यस्तै, अबुधाबीको अब्जन क्षेत्रमा पनि यस्तै घटना हुँदा नेपालीहरू समेत घाइते भएका थिए।