Skip to main content

तारागाउँ नेक्स्टमा ‘फर्म्स अफ एब्स्ट्र्याक्सन’ प्रदर्शनी सुरु

काठमाडौं । काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा नेपाली एब्स्ट्र्याक्स पेन्टिङ कला झल्किने गरी ‘फर्म्स अफ एब्स्ट्र्याक्सन’ नामक प्रदर्शनी चलिरहेको छ । बिहीबारबाट सुरु भएको यो प्रदर्शनी सोमबारसम्म सञ्चालन हुनेछ । सराफ फाउन्डेसन फर हिमालयन ट्रेडिसन एन्ड कल्चरको सहयोगमा आयोजना गरिएको यस प्रदर्शनीमा नेपालका २६ जना कलाकारका ४९ वटा एब्स्ट्र्याक्स पेन्टिङहरू राखिएका छन् । तारागाउँ नेक्स्टका निर्देशक रोशन मिश्रले भने, नेपाली एब्स्ट्र्याक्स पेन्टिङ कला नेपाली इतिहास र परम्परासँग गहिरो रूपमा जुडिएको छ । ‘इतिहास र परम्परासँग जोडिएको यसलाई हामी सबैको सामु चिनाउन आवश्यक छ,’ उनले भने, ‘अद्भुत कलाकारलाई चिनाउने र अवसर प्रदान गर्ने यस प्रकारको प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्दछ।’
युवाहरू माझ पनि एब्स्ट्र्याक्स पेन्टिङ अत्यन्तै रुचाइएको हुँदा यस प्रकारको प्रदर्शनीले थप जानकरी लिन मद्दत पुग्ने बताए। साथै निर्देशक मिश्रले यस प्रदर्शनीलाई अहिलेसम्मकै सबैभन्दा ठूलो र बढी सहभागीता भएको प्रदर्शनी भने।
नेपाली एब्स्ट्र्याक्स कलाको शुरुवात १९६० को दशकमा लैनसिंह बाङ्देलले गरेका थिए। पेरिसमा आधुनिक कला अवलोकन गरेर फर्केका बाङ्देलले रङ, बनावट र भावनाको माध्यमबाट नेपालमा नयाँ कला प्रवाह गर्न सफल भएका थिए। त्यसपछि गेहेन्द्रमान अमात्य, लक्ष्मण श्रेष्ठ, उत्तम नेपाली, गोविन्द डंगोल, कृष्ण मानन्धर, किरण मानन्धर, लया मैनाली, शरद रञ्जितजस्ता कलाकारहरूले यस कलालाई निरन्तरता दिएका छन्। प्रदर्शनीमा सहभागित कलाकारहरूले नेपालको इतिहास, आध्यात्मिकता, संस्कृति र प्रकृतिलाई रङ र कलात्मक अभिव्यक्तिमार्फत उतारेका छन्। कतिपय कलाकृतिमा ज्यामिति र वास्तुकलाको प्रभाव पनि देख्न सकिन्छ। प्रदर्शनीले स्वर्गीय लैनसिंह बाङ्देल, उत्तम नेपाली, बालकृष्ण सम, इन्द्र प्रधान, प्रशान्त श्रेष्ठ लगायत अमूर्त कलामा योगदान दिने पुराना कलाकारहरूलाई विशेष सम्मान पनि प्रदान गरेको छ।
प्रदर्शनीमा सहभागी कलाकारहरूमा बिधाता केसी, नविन्द्रमान राजभण्डारी, विजय महर्जन, एनबी गुरुङ, विनोद प्रधान, नेमबहादुर तामाङ, चन्द्र श्रेष्ठ, प्रमिला बज्राचार्य, गोविन्द डंगोल, रमेश खनाल रहेका छन्। साथै जीवन राजोपाध्याय, रत्नकाजी शाक्य, किरण मानन्धर, रीता मानन्धर, केके कर्माचार्य, सागर मानन्धर, कृष्ण मानन्धर, संगीत श्रेष्ठ, लया मैनाली, शरद रञ्जित, मदन चित्रकार, सुनिता राना, मुकेश मल्ल, सुष्मा राजभण्डारी, नबेन्द्र लिम्बू र विजय थापा पनि सहभागी छन्। आयोजकले नेपालमा लगभग ६५ वर्षदेखि एब्स्ट्र्याक्स कला अभ्यास हुँदै आएको भए तापनि यस विषयमा विशेष छलफल नभएको र कमै ध्यान दिइएको निर्देशक मिश्रले प्रतिक्रिया दिएका छन्।