Skip to main content

कञ्चनपुर र बर्दियाबाट १८ कृष्णसार चितवनमा सारिँदै

वन तथा वातावरण मन्त्रालयले कञ्चनपुर र बर्दियाबाट १८ वटा कृष्णसार चितवनको टिकौली क्षेत्रमा स्थानान्तरण गर्ने निर्णय गरेको छ। कृष्णसार लोपोन्मुख वन्यजन्तुमा सूचीकृत छ र नेपालको जनसंख्या ५०० भन्दा बढी पुगेको मन्त्रालयले जानकारी दिएको छ। स्थानान्तरणका लागि २० हेक्टर क्षेत्रफलमा घेराबार र पूर्वाधार निर्माण गरी सुरक्षित वातावरण तयार गरिनेछ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवनको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्न लागिएको हो। मन्त्रालयका अनुसार ६ भाले र १२ पोथी कृष्णसार स्थानान्तरण गरिनेछ। २०३३ सालमा बर्दिया खैरापुरमा कृष्णसारको संख्या ९ वटा मात्रै सीमित थियो। प्रभावकारी संरक्षणका कारण त्यसपछि यसको जनसंख्यामा उल्लेखनीय वृद्धि भएको मन्त्रालयले बताएको छ।

नेपालमा कृष्णसारको संख्या बढाउन विगत दशकमा सदर चिडियाखाना र खैरापुरबाट कुल ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा स्थानान्तरण गरिसकिएको छ। मन्त्रालयका अनुसार वन्यजन्तुलाई एक निश्चित क्षेत्रमा मात्र सीमित गर्दा वंशाणुगत, वातावरणीय र अप्रत्याशित परिस्थितिहरूले गर्दा प्रजाति एकैचोटि लोप हुने जोखिम रहन्छ।

यसै अभ्यास र आवश्यकतामाथि ध्यान दिँदै मन्त्रालयले गठन गरेको कार्यदलले तयार पारेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदन सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाको आधारमा करिब २० हेक्टर क्षेत्रमा घेराबार (इन्क्लोजर) र न्यूनतम पूर्वाधार निर्माण गरी कृष्णसार स्थानान्तरण गर्न लागिएको हो।