Skip to main content

सरकारले भन्यो – आवश्यकता भएमा जोर बिजोर प्रणाली लागू गर्न सकिन्छ

सरकारले पेट्रोलियम आपूर्तिमा समस्या देखिएमा जोर बिजोर प्रणाली लागू गर्न सक्ने जनाएको छ। मन्त्रिपरिषद् बैठकपछि मन्त्री प्रतिभा रावलले ऊर्जा बचतका लागि थोक बिक्री नियन्त्रण र उच्च पदस्थको इन्धन कटौती भइसकेको जानकारी दिइन्। २४ चैत, काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या ध्यानमा राखेर आवश्यक परेमा जोर बिजोर प्रणाली लागू गर्न सकिने उल्लेख गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय प्रस्तुत गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ऊर्जा बचतका लागि सरकारले आह्वान गरेको जानकारी दिइन्। उनले थोक बिक्री नियन्त्रण र उच्च पदस्थ कर्मचारीहरूको इन्धनमा कटौती गरिएको बताइन्। ‘थोक बिक्री नियन्त्रण र उच्च पदस्थले इन्धन कटौती गरिसकेको अवस्था छ। आवश्यकता परेमा सरकारले जोर बिजोर प्रणाली पनि लागू गर्नेछ,’ मन्त्री रावलले भनिन्, ‘सरकारले जनतालाई ‘वर्क फ्रॉम होम’ र विद्युतीय साधनहरूको प्रयोग बढाउन आह्वान गर्दछ।’ दीर्घकालीन गाडी रुपान्तरणका लागि कानुनी व्यवस्था अघि बढिरहेको र इथानोल नीतिमा तयारी भइरहेको उनको भनाइ छ। ‘दीर्घकालीन गाडी रुपान्तरणका लागि कानुनी व्यवस्था अघि बढिरहेको छ। यसका लागि इथानोल नीतिमा तयारी भइरहेको छ। ईभी पूर्वाधार विकासमा विस्तारका लागि पनि सरकार प्रतिबद्ध छ,’ उनले जोड दिइन्। साथै, सरकारले जनताको समस्या बुझ्ने र पारदर्शी रुपमा काम गर्ने बताएको उनले उल्लेख गरिन्। ‘सरकार पारदर्शी छ, सत्य लुकाउँदैन। तर जनताको पीडा बुझ्छ। ऊर्जा बचत गरौं, संयमित बनौं, धन्यवाद,’ उनले भनिन्।