Skip to main content

मन्त्री पोखरेलद्वारा फाप्ला क्रिकेट रंगशालालाई विश्वस्तर बनाउने योजना

युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीस्थित फाप्ला क्रिकेट रंगशालालाई विश्वस्तरीय बनाउनका लागि योजना बनाइएको बताएका छन्। मन्त्री पोखरेलले रंगशालाको स्रोत व्यवस्थापन र सञ्चालनलाई अझ प्रभावकारी बनाउने आश्वासन दिएका छन्। २४ चैत, काठमाडौं।

मंगलबार फाप्ला मैदानको निरीक्षण तथा खेलाडीहरूसँगको अन्तरक्रियाको क्रममा मन्त्री पोखरेलले भने, ‘सबैभन्दा ठूलो क्षेत्रफल भएको र धेरै दर्शक अट्ने प्याराफिट सहितको फाप्ला क्रिकेट रंगशालालाई राज्यले विशेष महत्व दिएको कारण वर्तमान अवस्थामा पुगेको हो। यसको स्रोत व्यवस्थापन र सञ्चालनलाई अझ प्रभावकारी बनाउनेछौं।’

मन्त्री पोखरेलले फाप्ला पुगेपछि केही समय त्यहाँका स्थानीय युवा खेलाडीहरूसँग क्रिकेट समेत खेलेका थिए। कैलालीका सांसद केपी खनाल र अछामका रास्वपा नेता भूपदेव शाह पनि पोखरेलसँगै फाप्ला पुगेका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका पोखरेलले यसअघि कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षण पनि गरेका थिए।