
एरिका गुरुङले चीनको लेसनमा आयोजना हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छन्। एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दै छ। एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। २४ चैत, काठमाडौं।
करातेका ऐतिहासिक पदक विजेता एरिका गुरुङले चीनको लेसनमा आयोजना हुने डब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न लागेकी छन्। त्यसका लागि एरिकासहित ३ सदस्यीय नेपाली टोली बुधबार चीन प्रस्थान गर्दै छ। अप्रिल १० देखि १२ सम्म हुने प्रतियोगितामा एरिका महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन्। गत जनवरीमा टर्कीको इस्तानबुलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन्।
प्रिमियर लिग वर्षमा ४ पटक आयोजना हुन्छ। राष्ट्रिय कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठका अनुसार, विश्व वरीयतामा एरिका हाल ११औं स्थानमा छिन्। सन् २०२६ को उपलब्धिको आधारमा एरिका चौथो वरियतामा छिन्। तीन सदस्यीय टोलीमा कुशल श्रेष्ठ प्रशिक्षकका जिम्मेवारीमा छन् भने व्यवस्थापक रवि महर्जन छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रामचरित्र मेहता र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले मंगलबार कार्यक्रमबीच बिदाइ गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै सदस्य-सचिव मेहताले पदक जितेका खेलाडीले प्राप्त गर्न नसकेको नगद पुरस्कारका लागि पहल गरिरहेको बताए। ‘विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिते पनि खेलाडीले पाउन नसकेको नगद पुरस्कारका विषयमा गम्भीर भएर सम्बन्धित निकायमा पहल गरिरहेको छु। माननीय खेलकुद मन्त्रीज्यूको स्वागत कार्यक्रममा पेश गरिएको तत्काल गर्नुपर्ने १८ कार्य मध्ये मैले खेलाडीको पुरस्कारलाई पहिलो नम्बरमा राखेको थिएँ,’ सदस्य-सचिव मेहताले भने, ‘व्यक्तिगत भेटमा पनि यो आर्थिक वर्षमा दिनुपर्छ भनी मन्त्रीज्यूसँग कुरा गरेको छु। मन्त्रीज्यू पनि यसमा सकारात्मक हुनुहुन्छ।’






