
त्रिभुवन आर्मी क्लबले गोल्डेनगेटलाई ९०-७१ ले पराजित गर्दै हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को फाइनलमा स्थान सुनिश्चित गरेको छ। आर्मीले यस सिजन गोल्डेनगेटविरुद्ध खेलेका तीनै खेल जित्दै आफ्नो वर्चश्व कायम राखेको छ। गोल्डेनगेटले फाइनलमा प्रवेश गर्न अर्को अवसर पाउनेछ र टाइम्स र केभीसी हाउण्ड्सबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। २४ चैत, काठमाडौं।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को फाइनलमा स्थान बनाएको छ। आर्मीले गोल्डेनगेटमाथि रोमाञ्चक जित निकाल्दै फाइनल प्रवेश गरेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको पहिलो क्वालिफायर खेलमा आर्मीले गोल्डेनगेटलाई ९०-७१ ले पराजित गर्दै फाइनलमा पुगेको हो। आर्मीले यस सिजन गोल्डेनगेटविरुद्ध खेलेका तीनै खेल जितेर आफ्नो वर्चश्व कायम राख्न सफल भएको छ।
सुरुवाती क्वाटरसम्म पछि परेको आर्मीले चौथो क्वाटरमा शानदार प्रदर्शन गर्दै जित हात पारेको हो। पहिलो क्वाटरमा गोल्डेनगेटले २५-१७ को अग्रता बनाएको थियो। दोस्रो क्वाटर १३-१३ बराबरीमा सकिएपछि गोल्डेनगेटले हाफटाईमसम्म ३८-३० को अग्रता कायम गर्यो। तेस्रो क्वाटर पनि २४-२१ को अग्रतासहित अन्तिम क्वाटरअघि गोल्डेनगेट ६२-५१ ले अघि थियो। तर आर्मीले चौथो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै २९-९ को स्कोरलाई आफ्नो पक्षमा पार्दै ८०-७१ ले खेल जितेको हो। आर्मीका कप्तान विनोद महर्जन म्यान अफ दि म्याच घोषित भए। आर्मीले शनिबार हुने फाइनलमा स्थान सुनिश्चित गर्दा गोल्डेनगेटले फाइनल पुग्न अर्को अवसर पाउनेछ। अब गोल्डेनगेटले टाइम्स र केभीसी हाउण्ड्सबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।





