
२४ चैत, लन्डन। गृह मन्त्रालयका तथ्यांकअनुसार गत वर्ष बेलायतमा शरण दाबी गर्ने नेपालीहरूको सङ्ख्या ४७५ पुगेको छ। सन् २०२५ डिसेम्बर अन्त्यसम्म बेलायतमा जम्मा १ लाख ६२५ जनाले शरण दाबी गरेका थिए, जसमा नेपालीहरूको संख्या ४७५ रहेको छ। तथ्यांक अनुसार, सानो डुंगा चढेर गैरकानुनी रूपमा बेलायत प्रवेश गरेका तीन जना र बेलायत पुगेपछि ४७२ ले शरणार्थी दाबी गरेका थिए। आवेदकमा पुरुष ३२८ र महिला १४७ छन्। मुख्य आवेदक ४४८ र आश्रित (डिपेन्डेन्ट) २७ जना रहेका छन्। उमेर समूहअनुसार, १८ वर्ष मुनिका ११, १८ देखि २९ वर्षअन्तर्गत ४०६ जना (८५%), ३० देखि ४९ वर्ष ५२ जना (११%) र ५० देखि ६९ वर्ष उमेरका ६ जना (१%) रहेका छन्। १८ देखि २९ वर्ष उमेर समूहका ८५ प्रतिशत आवेदक विद्यार्थी हुन्।
गत पाँच वर्षको तथ्यांक हेर्दा सन् २०२० मा १०४, २०२१ मा १८२, कोभिड महामारीको समयमा सन् २०२२ मा सबैभन्दा बढी १२६३, २०२३ मा ७०४ र २०२४ मा ७१८ जनाले ‘असाइलम’ आवेदन दिएका थिए। पछिल्लो वर्ष बेलायतमा शरण दाबी गर्नेहरूको सङ्ख्या घटेको छ, तर २०२१ भन्दा धेरै छ। २०२५ डिसेम्बरसम्मको तथ्यांक अनुसार कुल १ लाख ६२५ जनाले शरण दाबी गरेका थिए, जुन २०२४ डिसेम्बरको तुलनामा ४ प्रतिशत कम हो तर २०१९ डिसेम्बरसँग तुलना गर्दा दोब्बर हो। गत वर्ष कूल आवेदकमध्ये १२ हजार ५७८ जना विद्यार्थी थिए।
त्यसैगरी, १३ हजार ५५७ जनाले वर्क भिसामा बेलायत आएका थिए र ७ हजार ५२१ जना भिजिट भिसामा आएका थिए। गत वर्ष शरण दाबी गर्ने प्रमुख १० देशहरूमा पाकिस्तान, इरिट्रिया, इरान, अफगानिस्तान, बंगलादेश, सुडान, भारत, सोमालिया, नाइजेरिया र भियतनामका नागरिक रहेका छन्। सरकारले गत मार्च २ देखि शरण दाबी गर्नेहरूले स्थायी बसोबास नपाई अस्थायी बसोबास मात्रै पाउने नयाँ नियम ल्याएको छ। नयाँ नियम अनुसार, शरणार्थी दाबी गर्ने सबै वयस्कको प्रत्येक ३० महिनामा समीक्षा गरिनेछ।






