
२४ चैत, स्याङ्जा। बहुविवाहको मुद्दामा अदालतले दोषी ठहर गरी २९ वर्षदेखि फरार रहेका एक जोडीलाई पक्राउ गरिएको छ। बिरुवा गाउँपालिका–४ का ५२ वर्षीय उमाकान्त पोखरेल (हुमबहादुर थापा) र ४६ वर्षीया शारदादेवी पोखरेल पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रशन्नराज चौधरीले मंगलबार दुवैजनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।
उनीहरु विरुद्ध २०५३ साल वैशाख १९ गते बहुविवाहको मुद्दा दर्ता गरिएको थियो। स्याङ्जा जिल्ला अदालतले उक्त मुद्दामा दुवैलाई दोषी ठहर गर्दै दुई–दुई महिनाको कैद सजाय सुनाएको थियो। तर सो फैसला कार्यान्वयन हुनुअघि नै उनीहरु फरार भएका थिए। प्रहरीले जानकारी दिएको अनुसार, सजायबाट बच्न दुवैले आफ्नो वास्तविक परिचय लुकाएर भारतमा बस्दै आएका थिए। अनुसन्धानका क्रममा उनीहरूको स्थान पत्ता लगाइ प्रहरीले पक्राउ गरेको डीएसपी चौधरीले बताएका छन्।
पक्राउपछि दुवैलाई अदालतमा पेश गरिएको छ। अदालतले कैद सजाय कार्यान्वयनका लागि दुवैलाई जिल्ला कारागार स्याङ्जा चलान गरेको छ। प्रहरीले पछिल्लो समयमा अदालतको फैसला लागू गर्न प्राथमिकताका साथ फरार प्रतिवादी खोज्ने अभियान तीव्र बनाएको बताएको छ।






