Skip to main content

नेपाल क्रिकेट संघले अम्पायरको स्तर सुधारका लागि ग्रेडिङ प्रणाली लागू गर्ने तयारी

नेपाल क्रिकेट संघले अम्पायरको स्तर सुधारका लागि पहिलोपटक ग्रेडिङ प्रणाली लागू गर्ने तयारी गरिरहेको छ। अम्पायरको प्रदर्शनको निगरानी टेक्निकल कमिटीले गरिरहेको छ र म्याच रेफ्रीसँगको छलफलमा सुधारका सुझाव दिइरहेको छ। २४ चैत, काठमाडौं।

प्रधानमन्त्री कपको एक दिवसीय क्रिकेट अन्तर्गत मधेश प्रदेशविरुद्धको खेलमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदा लुम्बिनीका कप्तान देव खनालले एक खेलको प्रतिबन्ध भोग्नु परेको छ। खेलको आठौं ओभरको अन्तिम बलमा रूपेश सिंहको बलमा अपर कट प्रयास गर्दा देवलाई विकेटकिपरले क्याच गरेपछि आउट दिइएको थियो। अम्पायरले आउट दिएकोमा देवले असन्तुष्टि देखाउँदै केहीबेर मैदानमै रहे। त्यसपछि म्याच रेफ्रीले उनलाई एक खेलको प्रतिबन्ध लगाएका थिए।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध चितवन राईनोजका रिजन ढकालले एलबीडब्लुको निर्णयका लागि अपिल गर्दा अम्पायरले आउट नदिँदा उनले असन्तुष्टि व्यक्त गरेका थिए। त्यसैले उनलाई कारबाही गरिएको थियो। एलपीएलको यो संस्करणमा अम्पायरबाट धेरै गलत निर्णय भएका कारण तीव्र आलोचना भएको थियो। गत वर्षको जय ट्रफीमा क्रिकेटर सन्दीप लामिछानेले पनि सामाजिक सञ्जालमार्फत नेपालमा अम्पायरिङको स्तरमा ठुलो सुधार आवश्यक रहेको बताएका थिए।

एक वरिष्ठ अम्पायरको भनाइ छ, ‘खेलाडीले गल्ती गरे कारबाही हुन्छ तर अम्पायरले पटकपटक गलत निर्णय गर्दा पनि कुनै कारबाही हुँदैन। क्यानले उनीहरूलाई कारबाही गर्दैन भने कसरी अम्पायरिङको स्तर सुध्रिन्छ?’ लुम्बिनी प्रदेशका मुख्य प्रशिक्षक वसन्त शाही पनि अम्पायरको स्तरप्रति असन्तुष्ट छन्। उनले भने, ‘अम्पायरिङका निर्णयहरूमा हामी मात्र होइन, सबै टिम असन्तुष्ट छन्। पीएम कपमा अम्पायरिङको स्तर राम्रो देखिएको छैन। यसमा सुधार आवश्यक छ।’

क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘अम्पायरको विषय बोर्ड बैठकमा छलफल भएको थियो। क्यानको टेक्निकल कमिटीले दिएको रिपोर्टका आधारमा अम्पायरको ग्रेडिङ गरिने छ। यसले अम्पायरको गुणस्तर वृद्धि हुने विश्वास छ।’