Skip to main content

कोलेनिकाद्वारा जग्गा अतिक्रमण गरी बनाइएको संरचना हटाउन राजबिराज नगरपालिकालाई पत्राचार

२५ चैत्र, सप्तरी। कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले आफ्नो स्वामित्वको जग्गा संरक्षणका लागि पहल थालेको छ। राजबिराजको मुख्य बजारमा रहेको झण्डै तीन कट्ठा सरकारी जग्गा अतिक्रमण गरी उक्त जग्गामा बनाइएको संरचना तत्काल हटाउन राजबिराज नगरपालिकालाई औपचारिक पत्रचर गरिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नं. ६ (साबिक वडा नं. ७) मा अवस्थित कित्ता नम्बर ९० को ६ कट्ठा ६ धुर जग्गामध्ये २ कट्ठा १४ धुर अतिक्रमित रहेको छ।

त्यस जग्गामा नगरपालिकाले २०५४ सालमै जगदीश झा नामक व्यक्तिको नाममा घर नक्सा पास गरिदिएको पाइएको छ। मालपोत र नापी कार्यालयको विवरण अनुसार उक्त जग्गा पूर्ण रूपमा कोलेनिकाको स्वामित्वमा रहेको भएता पनि नगरपालिकाले २०५४/११/११ को निर्णय (च.नं. १४९३) मार्फत प्लट नं. १५ उल्लेख गर्दै घर नक्सा पास गराएको खुलेको छ। सरकारी जग्गामा निजी संरचना बनेपछि यसअघि ‘तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोग’ र हालको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ टंगालबाट समेत पत्राचार गरी अनुसन्धान सुरु गरिएको थियो। यस विषयमा गत २२ मंसिर २०८२ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको सरोकारवाला पक्षको बैठकले अतिक्रमित संरचना हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि कोलेनिकाले राजविराज नगरपालिकालाई पत्र लेख्दै सरकारी सम्पत्तिको संरक्षण र अतिक्रमित संरचना हटाउन आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको सप्तरीका प्रमुख कोष नियन्त्रक मनोज कुमार सुनुवारले जानकारी दिए।