Skip to main content

किसानले पाउन सकेनन् गहुँको उचित मूल्य, समर्थन मूल्य तोक्न माग

कैलालीका किसानहरूले यस वर्ष गहुँको उचित मूल्य नपाएको र गत वर्षको तुलनामा करिब दुई सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य भएको छ। सरकारले यस वर्ष गहुँको समर्थन मूल्य नतोकेको कारण खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँग समन्वयमा मूल्य निर्धारण गरेको छ। पानी र हुरीबतासले गहुँ उत्पादनमा क्षति पुर्‍याएको र किसानले समयमै मल र बीउ नपाउने समस्या भोगिरहेको टीकापुरका कृषि प्राविधिक मोतिसिंह विकले बताए। २५ चैत, कैलाली।

कैलालीका किसानहरूले यस वर्ष गहुँको उचित मूल्य पाएका छैनन्। गत वर्ष प्रतिक्विन्टल चार हजार रुपैयाँमा गहुँ बेच्नेहरू यस वर्ष करिब दुई सय रुपैयाँ कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन्। हाल गहुँ प्रतिक्विन्टल करिब तीन हजार ८०० रुपैयाँमा बिक्री भइरहेको छ। केही दिनअघि परेको वर्षा र हुरीबतासले उत्पादनमा समेत क्षति पुगेको छ। किसान रूपलाल चौधरीले धेरै मेहनत गरेर खेती गरे पनि उत्पादनको उचित मूल्य नपाउँदा त्रसित भएको बताए। उनले भने, ‘गत वर्षभन्दा कम मूल्यमा गहुँ बिक्री गर्नुपरेको छ, केही भए पनि बढी मूल्य पाउनुपर्ने थियो, समयमै मल र बीउ नपाउने, दुःख गरेर खेती गर्दा पनि उचित मूल्य नपाउने समस्या छ।’

टीकापुरका मञ्जित रावलले सरकारले गहुँको समर्थन मूल्य समयमै नतोकेको कारण किसानले उचित मूल्य नपाएको बताए। उनका अनुसार किसानले समयमै मल र बीउ नपाउने र बिक्रीका बेला पनि उचित मूल्य नपाउने समस्या झेलिरहेका छन्। केही दिनअघि आएको हुरीबताससहितको वर्षाले गहुँ उत्पादनमा कमी आएको छ। अहिले सङ्कलन केन्द्रमा पनि उचित मूल्य पाइँदैन, किसानलाई सबैबाट घाटा भएको छ। टीकापुरका पहलमान साउदले भने प्रतिक्विन्टल रु ४२०० को दरले चार क्विन्टल गहुँ खरिद गरेका छन्। गत वर्ष पनि यसै मूल्यमा गहुँ खरिद गरेका उनले यस वर्षको मूल्य ठीकै लागेको बताए। ‘गत वर्ष पनि यही मूल्यमा किनेको थिएँ, यस वर्ष मूल्य बढ्ला भनेर समयमै किन्न आएको थिएँ, पोहोरकै मूल्य पाएको छु,’ उनले भने।

टीकापुरस्थित भीम खाद्यान्न खरिदबिक्री केन्द्रका भीमबहादुर ठकुल्लाले राम्रो गुणस्तरको (केलाउन नपर्ने) गहुँ प्रतिक्विन्टल तीन हजार ८०० रुपैयाँसम्म खरिद गर्ने गरेको बताए। ‘राम्ररी सफा नगरेको गहुँ तीन हजार ६०० रुपैयाँमा खरिद गर्छौं, गुणस्तर हेरेर तीन हजार ९०० रुपैयाँसम्म पनि दिन्छौं,’ उनले भने। खाद्यान्न व्यवसायीका अनुसार कैलालीमा खरिद गरिएको गहुँ नेपालगञ्ज र धनगढीका मैदा मिलमा प्रतिक्विन्टल करिब रु चार हजारमा बिक्री हुँदै आएको छ। ठकुल्लाले अहिलेसम्म चार सय क्विन्टल गहुँ प्रतिक्विन्टल रु चार हजारको दरले बिक्रीका लागि नेपालगञ्ज पठाइसकेको छ। पौडेल राइस मिलका सञ्चालक रामहरि पौडेलले किसानले अहिले गहुँ बिक्रीका लागि ल्याउन थालेको जानकारी दिए। ‘यस वर्ष पानी र हुरीबतासले नपाक्दै गहुँ ढालेकाले सानो दाना र माटो मिसिएको गहुँ बिक्रीका लागि आएको छ,’ उनले भने, ‘गत वर्ष प्रतिक्विन्टल रु ४२०० सम्म खरिद गरेको थिएँ, यस वर्ष तीन हजार ८५० देखि तीन हजार ९०० रुपैयाँसम्म खरिद गरिरहेको छु।’

यस वर्ष सरकारले गहुँको समर्थन मूल्य तोकेको छैन। समर्थन मूल्य नतोकिँदा खाद्यान्न खरिदबिक्री केन्द्रहरूले मिलसँग समन्वयमा खरिदबिक्री मूल्य निर्धारण गरिरहेका छन्। गत वर्ष सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३८६७ रुपैयाँ ३८ पैसा निर्धारण गरेको थियो। विगतमा हरेक वर्ष बढाउँदै आएको समर्थन मूल्य यस वर्ष नतोकिँदा किसानले उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन्। कृषि मन्त्रालयले समर्थन मूल्य निर्धारणका लागि अध्ययन गरी प्रस्ताव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइसकेको जनाएको छ। टीकापुर नगरपालिका कृषि विकास शाखाका कृषि प्राविधिक मोतिसिंह विकका अनुसार गहुँको समर्थन मूल्य समयमै तोकिएमा किसानलाई राहत मिल्नेछ। ‘समयमै समर्थन मूल्य तोकिएमा किसानले घाटामा बिक्री गर्नुपर्दैन र बिचौलियाबाट ठगिने सम्भावना पनि कम हुन्छ,’ उनले भने, ‘यस वर्ष त मिल सञ्चालक र खरिदकर्ताले आफैं मूल्य निर्धारण गरेका कारण किसानले उचित मूल्य पाउन सकेका छैनन्।’