
सन् २०२६ को अप्रिलमा पश्चिम एसियामा युद्धको संकट हुँदा भारतले मध्यस्थता गर्न नसकेपछि पाकिस्तानले युद्धविराम कायम गर्न निर्णायक भूमिका निर्वाह गरेको छ। प्रधानमन्त्री मोदीको इजरायल भ्रमण र भारत–इजरायल नजिकिएसँगै भारतको तटस्थता हराएको र मध्यस्थता गर्ने विश्वसनीयता कमजोर भएको छ। विदेशमन्त्री एस. जयशंकरले पाकिस्तानको मध्यस्थतामा ‘दलाल’ शब्द प्रयोग गरेपछि विवाद उत्पन्न भयो र भारतको कूटनीतिक नीति अस्पष्ट भएको छ। २६ चैत, काठमाडौं।
कुनै पनि राष्ट्रको कूटनीतिक परिपक्वता केवल दस्तावेजमा लेखिएका सिद्धान्तले मात्र होइन, संकटको समयमा लिइने ठोस निर्णय र सक्रियताबाट मापन गरिन्छ। सन् २०२६ को अप्रिल महिनाले भारतको कूटनीतिक क्षमता कडा परीक्षामा उभ्यायो, जहाँ भारत अपेक्षाकृत असफल रह्यो। त्यतिबेला पश्चिम एसिया एक ठूलो युद्धको कगारमा थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमण गर्दा हजारौँ वर्ष पुरानो पर्सियन सभ्यता नष्ट गर्ने धम्कि दिएका थिए। इरानले ‘स्ट्रेट अफ होर्मुज’ मुख्य तेल मार्ग बन्द गर्दा अन्तर्राष्ट्रिय तेल बजार पूर्ण रूपमा अस्तव्यस्त भयो।
विश्व ऊर्जा सुरक्षामाथि प्रश्न उठेको उक्त संकटमा कुनै मुलुकले मध्यस्थताको भूमिका लिनुपर्छ भन्ने थियो। भारतका लागि यो विश्वमञ्चमा आफ्नो प्रभाव देखाउन सुनौलो अवसर थियो। अमेरिकासँग गहिरो रणनीतिक साझेदारी र इरानसँग मित्रता भएकाले भारतसँग वार्ताका लागि उच्चस्तरीय पहुँच थियो। विश्वकै ठूलो लोकतन्त्र र ग्लोबल साउथको निर्विवाद नेता हुन चाहने भारतले निर्णायक भूमिका खेल्ने अपेक्षा थियो। तर त्यो अवसर गुमायो र भारतको उपस्थितिमा प्रश्न उठ्यो। पाकिस्तानले भने यो अवसरलाई कुशलतापूर्वक उपयोग गर्यो।






