Skip to main content

चौथो राष्ट्रिय यू–२० एथ्लेटिक्सका लागि कर्णाली प्रदेशको टोलीलाई बिदाइ

कर्णाली प्रदेशका खेलाडीहरूलाई पोखरामा आयोजना हुने चौथो राष्ट्रिय यू–२० एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुनका लागि बिदाइ गरिएको छ। सदस्य–सचिव रविन्द्र चन्दले खेलाडीहरूलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभयो। त्यस्तै, रग्बी सेभेन्स महिला र पुरुष टोलीलाई पनि आजै राष्ट्रिय च्याम्पियनसिप खेल्नका लागि बिदाइ गरिएको छ। २७ चैत, काठमाडौं।

पोखरामा आयोजना हुन लागेको चौथो राष्ट्रिय यू–२० एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुन कर्णाली प्रदेशका खेलाडीहरूलाई एक विशेष कार्यक्रमका बीच बिदाइ गरिएको हो। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रविन्द्र चन्दले प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूको टोलीलाई शुभकामनासहित बिदाइ गरेका छन्।

बिदाइका क्रममा सदस्य–सचिव चन्दले खेलाडीहरूलाई उच्च मनोबलका साथ खेल्न आग्रह गर्दै भन्नुभयो, ‘तपाईंहरूले प्रदेशको प्रतिनीधित्व गर्दै हुनुहुन्छ, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी कर्णालीको नाम उचाइमा पुर्‍याउन म हार्दिक शुभकामना व्यक्त गर्दछु।’ उहाँले खेल क्षेत्रको विकासका लागि परिषद् सधैं खेलाडीहरूको साथमा रहने प्रतिबद्धता जनाउनुभयो।

नेपाल एथ्लेटिक्स संघको आयोजना तथा कास्की जिल्ला एथ्लेटिक्स संघको समन्वयमा हुन लागेको यो प्रतियोगिता आगामी चैत २८ र २९ गते पोखरा रंगशाला मैदानमा सञ्चालन हुने छ। सदस्य–सचिव चन्दले आजै राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप खेल्न जाने टोलीलाई पनि बिदाइ गर्नु भएको छ। कर्णाली प्रदेशका महिला र पुरुष दुबै टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेका छन्।