Skip to main content

इन्स्टाग्राममा अब आफ्ना कमेन्टहरू सम्पादन गर्न सकिने

इन्स्टाग्रामले प्रयोगकर्ताहरूलाई आफ्ना कमेन्टहरू १५ मिनेटभित्र सम्पादन गर्न एडिट विकल्प उपलब्ध गराएको छ। यो सुविधा लामो समयदेखि प्रयोगकर्ताहरूको अपेक्षामा रहेको थियो। अब प्रयोगकर्ताले कमेन्टमा भएका त्रुटिहरू सजिलै सुधार्न एडिट विकल्पको प्रयोग गर्न सक्नेछन्। अघिल्लो अवस्थामा साना टाइपो वा हिज्जे सुधार गर्न पुरानो कमेन्ट मेटाएर नयाँ कमेन्ट पोस्ट गर्नुपर्ने बाध्यता हुन्थ्यो, जुन अब समाप्त भएको छ।

तर, यस नयाँ सुविधामा केही सीमाहरू छन्। प्रयोगकर्ताले कमेन्ट पोस्ट गरेपछि १५ मिनेटको भित्र मात्र त्यहि कमेन्ट सम्पादन गर्न सक्नेछ। यो १५ मिनेटको अवधिमा आवश्यक परे जतिसुकै पटक सम्पादन गर्न सकिन्छ। सम्पादन पश्चात् कमेन्टमुनि ‘Edited’ भन्ने लेख देखिनेछ जसले अरूलाई कमेन्ट सम्पादित भएको जानकारी दिनेछ। ‘iMessage’ जस्ता एपहरूबाट फरक, यहाँ पुरानो कमेन्टको सम्पादन इतिहास उपलब्ध हुँदैन।

अर्को महत्वपूर्ण कुरा, यो सुविधा केवल टेक्स्ट सम्पादनमा मात्र लागू हुन्छ; फोटो संलग्न कमेन्टहरूमा तस्बिर परिवर्तन गर्न सकिंदैन। कमेन्ट सम्पादन सुविधा सुरू गर्दै इन्स्टाग्रामले किशोरहरूको सुरक्षा सुधार्न अर्को ठूलो पहल समेत थालेको छ। अहिले कम्पनीले १३ वर्षमाथिका किशोरहरूको खातामा चलचित्र रेटिङहरूका आधारमा देखिने निश्चित प्रकारका सामग्रीहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो कदम त्यतिबेला आएको हो जब मेटा बाल सुरक्षा र मानसिक स्वास्थ्यमा पर्ने प्रभावमा कानुनी दबाब सामना गरिरहेको छ। भर्खरै न्यू मेक्सिको र लस एन्जलसका अदालतहरूले मेटालाई बालबालिकाको सुरक्षा लापरवाही गरेको र एपलाई हानिकारक रूपमा डिजाइन गरेको ठहर गरेका छन्।