
काठमाडौंको दशरथ रंगशालामा चैत २८ र २९ गते राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता आयोजना गरिने छ। प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ सात-सात टोलीले सहभागिता जनाउने छन्। यस प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली चयन गरिने भएको छ। २७ चैत, काठमाडौं।
काठमाडौंको दशरथ रंगशालामा चैत २८ र २९ गते सञ्चालन हुने राष्ट्रिय रग्बी सेभेन्स महिला र पुरुष प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। पुरुषतर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका टोलीहरू सहभागिता जनाउनेछन्। महिलातर्फ एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका टिमहरू प्रतिस्पर्धा गर्नेछन्।
टिमहरूलाई दुई- दुई पोलमा विभाजन गरी प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइनेछ। प्रतियोगिताको अनुमानित खर्च ३० लाख रुपैयाँ रहेको छ भने खेलाडीहरूको लागि १ लाख २५ हजार रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ। च्याम्पियन महिला र पुरुष टोलीले समान ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् भने उपविजेता टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट एक-एक महिला र पुरुष खेलाडीलाई ५ हजार रुपैयाँ सहित सम्मान गरिनेछ। यस प्रतियोगिताबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टोली पनि चयन गरिने संघले जनाएको छ। जापानमा हुने २०औं एसियाली खेलकुद र ताइवानमा आयोजना हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि खेलाडी छनोट यसै प्रतियोगिताको आधारमा गरिनेछ।






