Skip to main content

बागमतीले मधेशमाथि निर्णायक जीतः प्रतिशले लिए ५ विकेट

बागमती प्रदेशले पीएम कप पुरुष राष्ट्रिय क्रिकेटमा मधेश प्रदेशलाई ३५ रनले पराजित गरेको छ। बाँया हातले बल गर्ने पेस बलर प्रतिश जिसीले ९.३ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिएर बागमतीको जीत सुनिश्चित गरे। बागमती ८ खेलमा ८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने मधेश ७ खेलमा ९ अंकसहित चौथो स्थानमा छ।

२७ चैत, काठमाडौं। शुक्रबार वीरगन्जमा भएको खेलमा बागमतीले मधेशलाई ३५ रनले पराजित गरेको हो। बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको मधेश ३४.३ ओभरमा १७३ रनमा अलआउट भयो। मयन यादवले सर्वाधिक ४० रन बनाए। आदिल आलमले २७, कप्तान अनिल साहले २६, विशाल सुस्लिङले २१ रन बनाए। मोहम्मद समिरले १६ रन गरे भने अभिषेक तिवारीले १० रन बनाए।

बागमतीका प्रतिशले ९.३ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए। रिजन ढकालले २ तथा कप्तान सन्दीप लामिछाने र सुवास खत्रीले १-१ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४८.४ ओभरमा २०८ रन बनाएर अलआउट भयो। उत्तम मगरले सर्वाधिक ४४ रन बनाए भने कप्तान सन्दीपले ३६ रन तारे।

मधेशका लागि पवन सर्राफले १० ओभरमा ३१ रन दिएर ३ विकेट लिए। आदिल आलम र रन्जित कुमारले २-२ विकेट लिए भने विशाल पटेल, अभिषेक तिवारी र अरनिको यादवले १-१ विकेट लिए। यससँगै ८ खेलमा चौथो जीत हासिल गरेको बागमती प्रदेश ८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ र जय ट्रफीका लागि छनोट हुने सम्भावना बलियो बनाएको छ। अब जय ट्रफीमा ६ टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। ७ खेलमा ९ अंक भएको मधेश चौथो स्थानमा यथावत् छ र उसले पनि जय ट्रफी खेल्ने सम्भावना बलियो बनाएको छ।