मस्कोले चाहेको छ दीर्घकालीन शान्ति, युद्धविराम होइन : क्रेमलिनका प्रवक्ता

क्रेमलिनका प्रवक्ता डमित्री पेस्कोभले रुस युक्रेनसँग दीर्घकालीन स्थायी शान्ति चाहेको र केवल अस्थायी युद्धविरामको पक्षमा नरहेको बताएका छन्। रुसले ११ अप्रिल दिउँसो ४ बजेदेखि १२ अप्रिलसम्म अर्थोडक्स इस्टर पर्वको अवसरमा युद्धविराम घोषणा गरेको छ। पेस्कोभले विगतका युद्धविरामहरूमा युक्रेनले उल्लंघन गरेको आरोप लगाउँदै यसपटकको युद्धविराम मानवीय भावनाले गरिएको भए पनि दिगो शान्ति नै अन्तिम लक्ष्य रहेको बताउनुभएको छ।
पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ उद्धृत गर्दै रुसको प्राथमिकता क्षणिक युद्धविरामभन्दा पनि दीर्घकालीन स्थिरता रहेको स्पष्ट पारेका छन्। क्रेमलिनले यसअघि नै अर्थोडक्स इस्टर पर्वको अवसरमा ११ अप्रिल शनिबार दिउँसो ४ बजेदेखि १२ अप्रिलको अन्त्यसम्मका लागि युद्धविराम घोषणा गरिसकेको छ। रुसी सेनालाई सम्पूर्ण अग्रमोर्चामा सैन्य कारबाही रोक्न आदेश दिइएको छ, तर कुनै पनि सम्भावित युक्रेनी आक्रमणको प्रतिकार गर्न उनीहरूलाई तयारी अवस्थामा रहन भनिएको छ।
सन् २०२२ मा सैन्य कारबाही सुरु भएयता रुसले घोषणा गरेको यो चौथो युद्धविराम हो। पेस्कोभले विगतका युद्धविरामहरू स्मरण गर्दै युक्रेनको आलोचना पनि गरेका छन्। उनले सन् २०२३ को क्रिसमसमा गरिएको पहिलो युद्धविरामलाई युक्रेनी पक्षले बेवास्ता गरेको र यसलाई ‘निन्दनीय’ कार्यको संज्ञा दिएको बताए। त्यस्तै सन् २०२५ को इस्टर र सोभियत संघको विजय दिवसको ८० औं वार्षिकोत्सवका अवसरमा गरिएका ७२ घण्टे युद्धविरामहरू युक्रेनी सरकारले उल्लंघन गरेको पनि उनले उल्लेख गरेका छन्।
पेस्कोभका अनुसार यसपटकको इस्टर युद्धविराम मानवीय भावनाबाट गरिएको भए पनि रुसको अन्तिम लक्ष्य भने युक्रेनसँगको समस्यालाई स्थायी रूपमा समाधान गरी दिगो शान्ति स्थापना गर्नु नै रहेको छ।






