
२७ चैत, काठमाडौं । राजस्व चुहावटको मुद्दामा उच्च अदालत पाटनले साढे चार करोड रुपैयाँ जरिवाना तोकिएको एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको कुलेश्वरमा रहेका अंकुश सप्लायर्स एन्ड ट्रेडर्सका सञ्चालक ३१ वर्षका प्रवीणकुमार महता रहेका छन्। सर्लाही जिल्लाको ब्रम्हपुरी नगरपालिका–२ सखुबाबामा स्थायी ठेगाना भएका महतालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) को टोलीले शुक्रबार कुलेश्वरबाट पक्राउ गरेको हो। महताविरुद्ध राजस्व चुहावटको आरोपमा भएको मुद्दामा उच्च अदालत पाटनले २०८१ साल वैशाख १७ गते फैसला गरिसकेको थियो। सो फैसलामा उनलाई ४ करोड ४४ लाख ८७ हजार ९५७ रुपैयाँ जरिवाना र एक वर्ष कैद सजाय सुनाइएको थियो। फैसला पछाडि उनी फरार थिए भनेर प्रहरीले जनाएको छ। पक्राउ पछि उनलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको सीआईबीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।






