Skip to main content

इरानसँगको वार्ताका लागि अमेरिकी टोली पाकिस्तानमा पुग्यो

२८ चैत, काठमाडौं । इरानसँग उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबादमा पुगेको छ। बीबीसीले पाकिस्तानको विमानस्थल श्रोतको हवाला दिँदै उल्लेख गरेको छ कि भान्स सवार ‘एयर फोर्स टु’ विमान इस्लामाबादमा अवतरण गरिसकेको छ। यो २१ वर्षपछि अमेरिकी उपराष्ट्रपतिको पहिलो पाकिस्तान भ्रमण हो। यसअघिल्ला उपराष्ट्रपति डिक चेनी सन् २००५ मा पाकिस्तान भ्रमणमा आएका थिए।

इस्लामाबादमा हुने वार्ताका लागि उपराष्ट्रपति भान्ससँगै अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टीभ विटकफ र राष्ट्रपतिको ज्वाइँ जेरेड कुशनर पनि प्रतिनिधिमण्डलमा सहभागी छन्। इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबादमा पुगेको छ। वार्ताका लागि इस्लामाबादमा उच्च सुरक्षा व्यवस्था र तयारी गरिएको छ।