
गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ को फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ९५-७४ को अन्तरले पराजित गर्दै उपाधि जितेको छ। फाइनलमा गोल्डेनगेटले पहिलो क्वाटरदेखि दबाब बनाउँदै हाफटाइमसम्म ४१-२६ को अग्रता बनायो र अन्ततः १७ अंकको फराकिलो अन्तरले सफलता हात पारेको हो। प्रतियोगितामा आठ टोली सहभागी थिए र विजेताले ट्रफीसँगै नगद ४ लाख प्राप्त गरेको छ भने उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख नगद पुरस्कार प्राप्त गरेका छन्।
२८ चैत, काठमाडौं। गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा नेशनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ को उपाधि आफ्नो नाम गरेको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई लगातार तीन हार दिइसकेको गोल्डेनगेटले यसपटक फाइनलमा बदला लिँदै च्याम्पियनको उपाधि आफ्नो बनाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको फाइनलमा गोल्डेनगेटले आर्मीलाई ९५-७४ ले पराजित गर्यो। लिग चरणमा आर्मीले दुई र पहिलो क्वालिफायरमा एक पटक गरी कुल तीनपटक गोल्डेनगेटलाई हराएको थियो, तर फाइनलमा गोल्डेनगेटले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै जीत सुनिश्चित गर्यो।
गोल्डेनगेटले पहिलो क्वाटरमा २४-१४ को अग्रता बनायो। दोस्रो क्वाटर पनि गोल्डेनगेटले १७-१२ ले आफ्नो पक्षमा पार्दै हाफटाइमसम्म ४१-२६ को अग्रता कायम राख्यो। तेस्रो क्वाटर निकै प्रतिस्पर्धात्मक रह्यो जहाँ आर्मीले अंक दूरी घटाउने प्रयास गर्यो, तर गोल्डेनगेटले २७-२५ ले आफ्नो झण्डा फहराउँदै अन्तिम क्वाटरअघि १७ अंकको अग्रता बनायो। चौथो क्वाटरमा पनि गोल्डेनगेटले २७-२३ को स्कोर बनाएर कुल ९५-७४ को जित दर्ता गर्यो। फाइनलको म्यान अफ दि म्याच गोल्डेनगेटका जाइन खान घोषित भए भने प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका गोल्डेनगेटका निकेश रख्याल मगरलाई लिगकै मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) को सम्मान प्राप्त भयो। नेपाल बास्केटबल संघ (नेबा) को आयोजना र हिमालयन जाभाको प्रमुख प्रायोजनमा सम्पन्न यो प्रतियोगितामा कुल ८ टोली सहभागी थिए। डबल राउण्ड रोविन प्रणालीमा संचालित लिगमा शीर्ष चार टोलीले प्लेअफ खेलेका थिए। यस प्रतियोगिताको विजेता गोल्डेनगेटले ट्रफीसहित नगद ४ लाख प्राप्त गर्यो भने उपविजेताले २ लाख र तेश्रो स्थानमा पुगेको टोलीले १ लाख नगद पुरस्कार हात पारेको छ। यसको अघिल्लो संस्करणको विजेता टाइम्स बास्केटबल क्लब यसपटक तेस्रो स्थानमा सीमित भयो।






