प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दुई देशबीच सैद्धान्तिक सहमति भए पनि भ्रमण केही समयपछि मात्र हुने भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको वार्तामा उच्चस्तरीय भ्रमणबारे छलफल भए तापनि मिति तय हुन सकेको छैन भनी परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराउनुभयो। भारतीय विदेश सचिव विक्रम मिश्रको नेपाल भ्रमण एक महिनाभित्र हुन सक्ने र त्यसपछि मात्र प्रधानमन्त्रीको भारत भ्रमणको मिति निर्धारण हुने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ। २८ चैत, काठमाडौं।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दुई देशबीच सैद्धान्तिक सहमति भएपनि त्यो भ्रमण केही समयपछि मात्र हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीमा शाह निर्वाचित भएपछि उनलाई बधाई पत्रसहित भारत भ्रमणको निम्तो दिएका थिए। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार, त्यसको जवाफमा प्रधानमन्त्री शाहले आफू “उचित समयमा भारत भ्रमण गर्ने” बताउनुभएको छ।
उनका अनुसार, भारतीय विदेशमन्त्री एस जयशंकरसँगको वार्तामा पनि प्रधानमन्त्रीले भारत भ्रमण गर्ने विषयमा सैद्धान्तिक सहमति नै गरिएको थियो। यद्यपि मिति निर्धारण गर्नुअघि धेरै तयारी बाँकी रहेको मन्त्री खनालले शनिबार साँझ बताए। ‘अन्य दुईपक्षीय विषयका साथै दुई देशबीच उच्चस्तरीय भ्रमणसम्बन्धी विषयमा छलफल भएको हो। मिति अहिले सम्म तय भएको छैन,’ परराष्ट्रमन्त्री खनालले भने।
मौरिससमा भइरहेको नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा भएको साइडलाइन वार्तामा मुख्यतया नेपालको निर्वाचन र नयाँ सरकारले तय गरेको प्राथमिकताका विषयमा कुराकानी भएको थियो। सो अवसरमा परराष्ट्रमन्त्री खनालले भारतीय विदेशमन्त्रीलाई नयाँ सरकारले नेपालको परराष्ट्र नीति र नेपाल-भारत सम्बन्धका विभिन्न आयामहरूको समीक्षा गरिरहेको जानकारी गराउनुभयो। ‘नेपाल र भारतबीच गहिरो राजनीतिक, आर्थिक र जनस्तरमा सम्बन्ध छ। हामी ती सम्बन्धका सम्बन्धित विषयमा अध्ययन गर्दैछौं। त्यसै क्रममा सम्बन्धका प्राथमिकताहरू निर्धारण गर्नेछौं,’ मन्त्री खनालले उल्लेख गर्नुभएको छ।






