Skip to main content

सन्जु सामसनको शतक, ओभरटनले ४ विकेट लिए, चेन्नईले पहिलो जित हात पारे

चेन्नईले २० ओभरमै २ विकेट गुमाएर २१२ रन बनाउँदै दिल्लीलाई २१३ रनको लक्ष्य दिएको छ। ओपनर सन्जु सामसनले ५६ बलमा ११५ रन बनाएर नटआउट रहे भने आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए। चेन्नईले चार खेलमा आफ्नो पहिलो जित निकालेको छ र २ अंक जोड्दै १०औं स्थानबाट नवौं स्थानमा उक्लिएको छ। २८ चैत, काठमाडौं।

ओपनर सन्जु सामसनको शतक र पेसर जेमी ओभरटनको ४ विकेटले मद्दत पु¥याएपछि चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो जीत हासिल गरेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा चेन्नईले दिल्लीलाई २३ रनले हराएको हो। चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन मात्र बनाउन सफल भयो।

दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ६० रन बनाए भने पथुम निसान्काले ४१ रन बनाए। आशुतोष शर्माले १९, केएल राहुलले १८ र डेभिड मिलरले १७ रनमा आउट भए। चेन्नईका लागि ओभरटनले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। अंशुल कम्बोजले ३ विकेट लिएका थिए भने खलील अहमद, गुर्जपनीत सिंह र नूर अहमदले १-१ विकेट थपेका थिए।

पहिले टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो। ओपनर सन्जु सामसनले शतकीय पारी खेले भने आयुष म्हात्रेले अर्धशतक पूरा गरे। सामसनले ५६ बलमा १५ चौका र ४ छक्का प्रहार गर्दै ११५ रन नटआउट बनाउन सफल भए। आयुषले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए। शिवम दुबे २० रनमा नटआउट रहे। दिल्लीका कप्तान अक्षर पटेलले १ विकेट लिए। यो जितसँगै चार खेलमा पहिलो जीत हात पारेको चेन्नईले २ अंक जोड्दै १०औं स्थानबाट नवौं स्थानमा उक्लिएको छ। लगातार दोस्रो हार भोगिरहेको दिल्ली ४ अंक लिएर चौथो स्थानमा कायम छ। सोही दिनको पहिलो खेलमा पन्जाव किङ्सले सनराइजर्स हैदराबादलाई पराजित गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ।