ट्रम्पको आग्रह: अमेरिकासँग विश्वकै सबैभन्दा धेरै र उत्कृष्ट गुणस्तरको तेल छ, शीघ्र आउनुस्

२८ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबैभन्दा ठूलो दुई तेल उत्पादन गर्ने अर्थतन्त्रभन्दा पनि बढी तेल अमेरिकासँग रहेको दाबी गरेका छन् । शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमार्फत उनले ठूलो सङ्ख्यामा तेल ट्यांकरहरू अमेरिकातर्फ आउँदै गरेको बताएका छन् । ‘ठूलो सङ्ख्यामा खाली तेल ट्यांकरहरू अमेरिकातर्फ अघि बढिरहेका छन् ताकि विश्वकै सबैभन्दा राम्रो र स्वादिष्ट तेल र ग्यास भण्डारण गर्न सकियोस्,’ ट्रम्पले बताएका छन् ।
‘विश्वका भविष्यका सबैभन्दा ठूलो तेल उत्पादन गर्ने अर्थतन्त्रहरु मिलाएर जति तेल हुन्छ, त्योभन्दा पनि बढी तेल अमेरिका सँग छ,’ उनले थपे, ‘त्यस तेलको गुणस्तर पनि अत्यन्त उच्च स्तरको छ ।’ ट्रम्पले तेल खरिददारहरूलाई अमेरिका आउन पनि आग्रह गरेका छन् । ‘हामी तपाईंहरूको प्रतीक्षामा छौं, छिटो आउनुस्,’ ट्रम्पले भनेका छन् । त्यसैबीच, ट्रम्पको यस्तो बयान जारी हुँदै गर्दा पाकिस्तानको इस्लामाबादमा अमेरिकी प्रतिनिधिमण्डलले इरानी वार्ताकारहरूसँग शान्ति वार्ता गर्दैछ ।





