Skip to main content

माधव नेपालले एक हप्ताभित्र पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने योजना सार्वजनिक गरे

२८ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सक्ने योजना रहेको जानकारी दिएका छन् । उनले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको अवसरमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उक्त कुरा बताए ।

नेपालले हालै सम्पन्न निर्वाचनको नतिजा अपेक्षितभन्दा भिन्न आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा आवश्यक रहेकोमा जोड दिए । उनले चुनावमा कार्यकर्ताहरूको सक्रियता र इमानदारीप्रति प्रश्न उठाउँदै आत्ममन्थन गर्न सबैमा आग्रह गरे। ‘केन्द्रीय संयोजन कमिटीमा ४५ सदस्य छन्। ती सदस्यहरूले सात दिनभित्र बैठक गरी विभिन्न विषयमा छलफल गरिरहेका छन्,’ उनले भने, ‘राष्ट्रिय समस्या, देशले भोगिरहेका चुनौतीहरू, राजनीतिक संकट, कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक संघर्षका जटिलताहरूबारे आफ्नो धारणा प्रस्तुत गरिसकेका छन्। ती सबै विचारधारामा हामी मन्थन गरी निष्कर्षमा पुग्ने प्रयास गर्दैछौं।’

नेपालले कम्युनिष्टहरूले सन् २००७ सालदेखि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै, कम्युनिष्टहरूलाई सच्चा देशभक्तको रूपमा प्रस्तुत गरे। ‘हामीले राष्ट्रव्यापी राजनीति भित्र महत्वपूर्ण भूमिका खेलिरहेका छौं। अब एकताको भावना लिएर एकीकृत पार्टीको रूपमा अघि बढ्नुपर्छ। हाल २६ वटा विभिन्न घटकहरू छन्, जसमा विभिन्न तहका महिलाहरू पनि छन्,’ नेपालले थपे।