नेपाल पुलिस क्लबले कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ७ स्वर्णसहित च्याम्पियन बाजी मारे

नेपाल पुलिस क्लबले पाँचौं कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा ७ स्वर्णसहित टिम च्याम्पियन घोषित भएको छ। सशस्त्र प्रहरी बलले ६ स्वर्ण सहित दोस्रो स्थान हासिल गर्यो भने त्रिभुवन आर्मी क्लबले ४ स्वर्णसहित तेश्रो स्थानमा रहेको छ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमका २१० खेलाडिहरूले १७ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।
नेपाल पुलिस क्लबले ७ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल १३ पदक जित्दै उपाधि हात पार्न सफल भयो। शनिबार सातदोबाटोस्थित कराते एकेडेमीमा सबै १७ इभेन्टका फाइनल खेलहरू सम्पन्न भएका थिए। पुरुष ५० केजी वर्गमा पुलिसका राकेश मानन्धरले गण्डकी प्रदेशका बमिन गुरुङलाई ६–१ को फराकिलो अन्तरले हराउँदै स्वर्ण पदक जिते। महिला ६८ केजी मुनिको वर्गमा पुलिसकी आशिका राईले आर्मीकी सम्पदा केसीलाई १–० को नजिकको स्कोरमा पराजित गर्दै स्वर्ण पदक हात पारिन्।
प्रतियोगितामा पुरुष एकल कातामा पुलिसका स्वनिम मानन्धर लगातार चौथो पटक च्याम्पियन बन्न सफल भए। महिला तर्फ पुलिसकी वर्षा बुढा मगर र पुरुष तर्फ एपीएफका प्रदीप बैजाली मगरलाई ‘बेस्ट फाइटर’ को सम्मानले नवाजिएको छ। टिम च्याम्पियन बनेको पुलिस टोलीले ट्रफीसहित एक लाख पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने एपीएफले ७५ हजार र आर्मीले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लगायतले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।






