
२९ चैत, पाँचथर। तीनसिमाना / फालोट क्षेत्र उस दिन हिउँले सेतो ओढेको थियो। चौँरीहरू हिउँको माथि रमाइरहेका थिए। ती चौँरीहरूको खुट्टा हिउँले छोपिएको थियो। गुराँसका पोथ्राहरूले हिउँकै चादर ओढेका थिए। हिउँ परेको कारण यहाँ आएका पर्यटक खुशी देखिन्थे। तीमध्ये एक भारतीय सिक्किमका अनरुप लेप्चा थिए। परिवारसहित घुम्न आएका उनले आफ्नो अनुभूति व्यक्त गर्दै भने, ‘म यो ठाउँ चारपल्ट आएको छु, यो पटक हिउँ परेको भन्ने कुराले फरक अनुभूति भयो।’
स्थानीयहरूको भनाइ अनुसार चैतको अन्त्यमा हिउँ पर्ने यो क्षेत्रका लागि नयाँ घटना हो। यस सिजन मात्र नभई वर्षभरिका विभिन्न समयमा पनि यस क्षेत्रको दृश्य अत्यन्त मनमोहक हुन्छ। पाँचथरको फालेलुङ गाउँपालिका भित्र पर्ने यो ठाउँ भारतसँगको सिमानामा अवस्थित छ। अहिले बाटोभरि गुराँसका फूलहरू फुलेका छन्। चौँरी गोठहरूमा व्यस्तता बढेको देखिन्छ। पाँचथरको चारराते–फालोट–चिवाभञ्ज्याङ–तिम्बुङ पोखरी पर्यटकीय मार्ग आकर्षक छ। यस मार्गमा फालोटले विशेष महत्व राख्दछ।
‘मौसम अनुसार विभिन्न दृश्यहरूले आनन्द प्रदान गर्छन्। सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण लगायत हिमालयको दृश्य र स्थानिय सौन्दर्य यहाँको मुख्य विशेषता हुन्। ‘यो ऐतिहासिक स्थल पनि हो,’ यहाँ होमस्टे संचालन गरिरहेका चन्द्रलाल नेपालले भने, ‘चौँरी यहाँको मुख्य विशेषता हो र तलतिर रेडपाण्डा पाइन्छ। वर्षा ऋतुमा हरियाली, हिउँदमा हिमाल र हिउँको अनुभूति गर्न सकिन्छ।’ यहाँ आएका आगन्तुकहरूले चौँरीको दूधबाट बनेको खिर, छुर्पी, चिज जस्ता स्थानीय परिकार स्वाद गर्न पाउँछन्, नेपालले जानकारी दिए।
सन्दकपुर हुँदै भारतको बाटो हुँदै सजिलै गाडीबाट यहाँ पुग्न सकिन्छ। पाँचथरको फिदिमबाट मेमेङ मार्ग हुँदै पनि यहाँ आइपुग्न सहज छ। यहाँ बाइकमा यात्रा गर्नेहरूको संख्या पनि उल्लेख्य छ। सिक्किम भारतमा समावेश हुनु अघि नेपाल, भारत र सिक्किमको सीमा मिल्ने ठाउँ भएकाले यसलाई तीनसिमाना भनिन्छ। अहिले पनि सिक्किम र पश्चिम बंगालसँग जोडिएको छ। नेपालतर्फ पदमार्ग निर्माण गरिएको छ। पहाडहरू धेरै आकर्षक देखिन्छन्। साना पहाड र फरक आकारका ढुङ्गाहरू यहाँको सौन्दर्य थप बढाउँछन्। तीनसिमाना ३,५८६ मिटर उचाइमा रहेको स्थान प्राकृतिक अपूर्व सौन्दर्यले परिपूर्ण छ। सन्दकपुरबाट प्रत्येक वर्ष भारतीय पर्यटकहरू यहाँ आउने गर्छन्, तर नेपालतर्फबाट उल्लेखनीय पर्यटकको आवागमन भएको छैन।
विभिन्न समयमा तीनसिमाना / फालोट क्षेत्रका तस्विरहरू:






