
नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टी छोड्ने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् ‘अन्ततः कांग्रेसमा बस्न सकिएन’ बताएका छन्। बजगाईंले कांग्रेस नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सदस्यता पुनःस्थापना गर्ने निर्णयप्रति दुःख व्यक्त गरेका छन्। २९ चैत, काठमाडौं।
बजगाईंले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कांग्रेसमा बस्न सकिएन। सज्जनका हातमा गोबर छ, पिठ्युमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेको वास्तविक नागरिकहरूले पछि मात्र सत्य थाहा पाउनेछन्।’ पछिल्लो समय उनी कांग्रेस नेतृत्वप्रति असन्तुष्ट रहेका थिए।
उनले भनेका छन्, ‘किसुनजीका सदस्यता पुनःस्थापन गर्ने निर्णयप्रति म दुःख व्यक्त गर्दछु, त्यो फेरिफेरि किन भर्न परेको? त्यसको कुनै औचित्य थिएन। संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।’
बजगाईंले विशेष समूहहरू पार्टी कब्जा अभियानमा लागेको दाबी गर्दै भनेका छन्, ‘उनीहरूले यसरी खेल खेलिरहेका छन् — सके प्रभावको कोर्रा हानेर आधिकारिकता लिने, नसके अप्ठ्यारो ढुंगाको पर्खाल खडा गरेर तथ्यांक संकलनको आडमा भित्री षडयन्त्रमार्फत कांग्रेसमाथि नियन्त्रण जमाउने गरी सदस्यताको ‘डीएनए’ बनाउने।’






