
२९ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन्। सप्तरी दरबन्दी भएका नेपाल प्रहरीमा कार्यरत चौरसिया हाल बिदामा घर आएका २७ वर्षीय प्रहरी जवान हुन्। पर्सा प्रहरीका अनुसार उनलाई केही युवकहरूको समूहले लक्षित गरी आक्रमण गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए। सूचना पाउँनासाथ प्रहरी टोली घटनास्थल पुगेको र बेहोस चौरसियालाई अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै गएपछि कुटपिटबाट चौरसियाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न चार जनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। तीन पुरुष र एक महिला पक्राउ परेका छन्। मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ। प्रहरीले घटनाको कारण र अन्य संलग्नहरूको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।






