
३० चैत, भक्तपुर। भक्तपुर पूर्ण रूपमा जात्रामय बनेको छ। नयाँ वर्ष सुरु हुनुअघि भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्का जात्राको उत्सव सुरु भइसकेको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा यहाँ बिस्काको रौनक विशेष रूपमा फैलिएको छ। यो उत्सवमा विदेशी परिवार र आफन्त मात्र नभई विदेशमा रहेका परिवार र आफन्तहरूले समेत बिस्का जात्राको अवसरमा घर फर्कने गर्दछन्। भक्तपुर जिल्लाभरि यो उत्सव हर्षोल्लासका साथ मनाइन्छ। यो जात्रामा ऐतिहासिक पक्ष त छ नै, साथै यो पूर्ण रूपमा तान्त्रिक र धार्मिक विधिअनुसार सञ्चालन हुने भएकाले यसको अत्यन्तै विशेष महत्त्व छ।
परापूर्वकालमा बिस्का जात्रा दुई दिनमात्र मनाइन्थ्यो भन्ने जानकारहरूले बताउँछन्। भक्तपुरको थिमिमा फेला परेको नेपाल संवत् ५०० को तमसुक पत्रमा यस जात्रालाई विश्वकेतुलाई सम्झाउने प्रतीकको रूपमा लिइन्छ। भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा यसलाई विश्व जात्रा भनेर उल्लेख गरिएको छ। भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ मा राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएका अभिलेखहरूमा ‘विस्क्यात’ शब्द उल्लेख गरीएको छ भन्ने जानकारहरूले भन्छन्।
बिस्का जात्राको मुख्य जात्रा भनेकै चैत्र महिनाको अन्तिम दिन विश्वकेतुसहित ‘योसीं द्य:(लिंगां)’ उठाएर त्यसमा एक जोडी ध्वजा फहराउनु हो र वैशाख सक्रान्तिको दिन उक्त ‘योसीं’ खोल्नु मानिन्छ। यसैअनुसार अहिले साँझ भक्तपुरमा लिङ्गो उभ्याएर ध्वजा फहराइएको छ। किरातीहरूलाई पराजित गरेपछि लिच्छवीहरूले यो जात्रा मनाउन थालेको जानकारहरूले जनाएका छन्।






